जनतामा सूचनाको हक प्रत्याभूत भएको महसुस हुने गरी काम गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले सूचनाको हकको प्रभावकारी कार्यान्वयनले मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।
राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले जनतालाई सूचनाको हकबारे सुसूचित गराउँदै प्रभावकारी र गुणस्तरीय सेवामार्फत लोकतन्त्रलाई समृद्ध तुल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले जनतामा सूचनाको हक प्रत्याभूत भएको महसुस हुने गरी सार्वजनिक क्षेत्रले जिम्मेवारी बोधका साथ जबाफदेही भएर काम गर्नुपर्ने धारणा राख्नुभयो ।

सभामुख घिमिरेले सूचनाको हक प्रजातन्त्रको प्राण वायु भएकोले विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यक कानुनको तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सूचनाको हकको पूर्ण कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभयो ।
मन्त्री शर्माले सूचनाको हकसम्बन्धी ऐनको पूर्ण कार्यान्वयनका लागि राष्ट्रिय सूचना आयोगसहित सरोकारवालाहरुले दिने गरेका सुझावप्रति सरकार गम्भीर रहेको भन्नुहुँदै सार्वजनिक सूचनाको अद्यावधिक गर्न र स्वतः प्रकाशनको कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री शर्माले सूचना हक जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउने माध्यम भएकाले यसको प्रयोगलाई जनस्तरसम्म पुर्याउनु आवश्यक रहेको बताउनुभयो ।
मन्त्री शर्माले सूचनादाताको सुरक्षामा सरकार संवेदनशील रहेको भन्नुहुँदै सूचनाको माग गर्नु सरकारी अधिकारीहरूलाई झन्झट दिन नभई सरकारी सेवा प्रवाहलाई पारदर्शी बनाउनु भएको धारणा राख्नुभयो ।
मन्त्री शर्माले जनताले चाहेको सूचना सहजरुपमा प्राप्त नगरेमा सम्बन्धित अधिकारीहरू दण्डित हुने कानुनी व्यवस्था भएकाले आफूले चाहेका सार्वजनिक महत्त्वका सूचना ढुक्क भएर माग्न सबैमा आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकलाई जनताप्रति उत्तरदायी हुने विषयका रुपमा लिनुपर्ने भन्नुहुँदै जनतामा सचेतना र सक्रियता बढाउन आयोग सबैसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सूचनाको हकको कार्यान्वयनको अवस्थाको समीक्षा गर्दै सूचना माग्ने प्रचलनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका अध्यक्ष उमीद बागचन्दले सूचनाको हकको व्यावहारिक कार्यान्वयनका लागि राज्यले स्रोत साधनको उचित प्रबन्ध मिलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जनतामा सूचनाको हक प्रत्याभूत भएको महसुस हुने गरी काम गर्नुपर्छ : सभामुख घिमिरे (भिडियो )







प्रतिक्रिया राख्नुहोस्