तपाईँ सुन्दै हुनुहुन्छः

व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीविरुद्ध पक्राउ पुर्जी जारी

चितवन । नेपालका परिचित पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणका आरोपी दुई जनालाई पक्राउ पुर्जी जारी भएको छ । परिवारले किटानी जाहेरी दर्ता गराएसँगै पक्राउ पुर्जी जारी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार जाहेरी दिइएका नामका व्यक्तिका लागि पक्राउ पुर्जी जारी गरिसकिएको छ । परिवारका तर्फबाट कँडेलले आत्महत्या गर्नुको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत लेखा प्रमुख जीवन रावलविरुद्ध किटानी जाहेरी परेको हो ।

पक्राउ पुर्जी जारी गरी देशभर प्रहरीका युनिटसँग समन्वय गरिएको कार्कीले बताउनुभयो । उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग सङ्घ चितवनलगायत निजी क्षेत्रको ज्ञापनपत्र बुझ्दै उहाँले भन्नुभयो, ‘हामीले पक्राउ पुर्जी जारी गरिसकेका छौँ । अपराध महाशाखा, सिआइबीलगायतको टोलीलाई समेत खबर गरेर देशभरका प्रहरी युनिटसँग समन्वय गरेका छौँ ।’ आरोपी भनिएका व्यक्तिलाई कानुनी दायरामा ल्याउने उहाँले बताउनुभयो । परिवारले आत्महत्या दुरुत्साहनमा उजुरी दर्ता गराएका थिए ।

ज्ञापनपत्र बुझाउँदै उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सरकारका विभिन्न निकायमा दर्ता गरी जस्तोसुकै विषम परिस्थितिमा पनि संयमित भई राज्यलाई कर तिर्दै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको निजी क्षेत्रलाई सरकारको तर्फबाट कुनै किसिमको सहयोग नहुनु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो ।

यसको परिणाम कँडेलले मृत्युको शिकार बन्नुपरेको भन्दै यस्ता घटना रोक्नका लागि समेत दोषीलाई पक्राउ गरी कारबाही गर्न उहाँले माग गर्नुभयो । दोषीलाई कारबाही नहुने हो भने अन्य कैयौँ व्यवसायीले आत्महत्या गर्न बाध्य हुने भन्दै सङ्घले तत्काल पक्राउ गर्न दबाबस्वरुप आन्दोलनका कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ ।

निजी क्षेत्रको अगुवाइमा बिहीबारदेखि शान्तिपूर्ण आन्दोलनका कार्यक्रम गर्नेसमेत जनाइएको छ । आन्दोलनको कार्यक्रमअन्तर्गत बिहीबार जिल्ला प्रहरी कार्यालय चितवन अगाडि ११ः३० बजे धर्ना दिने बिहीबारसम्म पनि दोषी पक्राउ नभए थप आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो ।

मृतक शङ्कर कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिनुभएकाे थियाे । केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर रुङ्टालाई बेच्नुभएकाे थियाे । शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको उहाँको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको कार्कीले जानकारी दिनुभयो । कँडेल जिल्लाका लोकप्रिय पात्र हुनुहुन्थ्याे । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button