बेमौसमी झरीले भेडा मर्न थाले
ढोरपाटन । चिसोले कठ्याङ्ग्रिएर भेडा मर्दा कृषकले लाखौँको नोक्सानी व्यहोर्नुपरेको छ ।
एक सातादेखि परेको अविरल वर्षाका कारण बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमानामा कृषकले चरनका लागि ल्याएका ६० भेडा मर्दा करिब १० लाख क्षति भएको भेडापालक जोरप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।

वैशाख ८ गतेदेखि लगातार पानी पर्दा घाँस र दाना खाना नपाउँदा भेडा मरेको घर्ती मगरको भनाइ छ । घर्तीमगर भन्नुहुन्छ, “पानी परेको धेरै दिन भयो, सुरुमा केही दिन हिउँ पनि थियो, पानीले गर्दा घाँस काटेर खुवाउन पनि सकेका छैनौँ, यहाँ हजार बढी भेडा भएको हुँदा सबैलाई काटेर खुवाउन सक्ने अवस्था पनि छैन, अहिलेसम्म साठी बढी भेडा मरे अझै मर्दैछन् ।”
पातीहाल्ने क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ । चिसोले गर्दा जनजीवन अत्यन्तै कष्टकर बनेको छ । हालसम्म जोरप्रसाद घर्ती मगरको २० वटा, सत गुरुङको २५, रास गुरुङको तीनवटा र प्रताप रोकाको १२ वटा भेडा मरेका छन् । मरेका भेडा केही खापामा छरपस्ट छन् भने केही गोठकै पल्टिएका छन् । बेँसीमा घाँस सकिएपछि वैशाख ४ गते पातीहाल्ने भेडा लिएर आएका पूर्वी रुकुमको भूमे गाउँपालिका–१ का सत गुरुङले बताउनुभयो । अझै केही दिन निरन्तर वर्षा भए यहाँ भएका सबै भेडा मर्ने गुरुङ बताउनुहुन्छ । आफूहरूको मुख्य पेसा भेडापालन भएको भन्दै वर्षाले गर्दा एकै सातामा लाखौँ नोक्सानी व्यहोर्नु परेको गुनासो उहाँले पोख्नुभयो ।
पातीहाल्ने क्षेत्रमा तीन वटै जिल्लाका भेडापालक कृषकहरू भेडा लिएर गएका छन् । उनीहरूको गोठ तथा वरपर धमाधम भेडा मर्न थालेका छन् । दिनमै दर्जन भेडा मर्ने गरेको उनीहरूको भनाइ छ । पातीहाल्ने क्षेत्र तीन हजार दुई सय मिटरको उचाइमा पर्छ ।








प्रतिक्रिया राख्नुहोस्