तपाईँ सुन्दै हुनुहुन्छः

युवाशक्तिलाई स्वदेशमा नै रोजगारीका अवसर सृजना गरौँ : अध्यक्ष तिमिल्सिना

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले युवाशक्तिलाई स्वदेशमा नै रोजगारीका अवसर सृजना गर्न आग्रह गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना दिनुहुँदै अध्यक्ष तिमिल्सिनाले युवा शक्तिलाई स्वदेशमा नै स्वरोजगारका कार्यक्रम सञ्चालन मार्फत् रोजगारीका अवसर सिर्जना गर्न आग्रह गर्नुभएको हो ।

‘राज्यको भविष्यदर्शी नीति तथा कार्यक्रम मार्फत श्रम तथा रोजगारीका क्षेत्रमा सुधार गर्न सकिन्छ । ’ शुभकामना सन्देशमा भनिएको छ ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगारीको क्षेत्रलाई मर्यादित र सुरक्षित बनाई युवा शक्तिलाई स्वदेशमा नै स्वरोजगारका कार्यक्रम सञ्चालन मार्फत् रोजगारीका अवसर सिर्जना गरी सम्मानित श्रम वातावरण निर्माणमा राज्यले विशेष ध्यान दिनुपर्दछ ।’

उहाँले विश्वभरका श्रमिकहरूले ऐक्यबद्धता जनाउँदै श्रमिक अधिकारको प्रवर्द्धनमा मे १ को गौरवपूर्ण इतिहासलाई कायम राख्दै मजदुरहरूको हक हितको लागि एकीकृत प्रयास गर्नु जरुरी रहेको चर्चा गर्दै नेपालको संविधानले प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षा र सामूहिक सौदाबाजी गर्न पाउने अधिकार मौलिक हक मार्फत व्यवस्था गरेको तथा श्रम ऐन, २०७४ मार्फत श्रमिकहरूको अधिकार कार्यान्वयनको आधार निर्माण भएको बताउनुभएको छ ।

विश्वमा विभिन्न समयमा देखापरेका महामारी, आर्थिक संकट वा उतारचढावले असंगठित वा अनौपचारिक क्षेत्रमा काम गर्ने दैनिक ज्यालादारी गर्ने मजदुर वर्ग सबैभन्दा बढी समस्यामा परेको र भएका रोजगारीका क्षेत्र समेत गुमाउनु परेको हुँदा श्रमिकलाई उचित पारिश्रमिक र रोजगारीका नयाँ अवसरहरू खोज्न पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button