तपाईँ सुन्दै हुनुहुन्छः

स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यकः राष्ट्रपति

काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै देशको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने श्रमिकप्रति सम्मान प्रकट गर्नुभएको छ ।

यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने वहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक कायम गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको र मुलकमा लोकतन्त्रात्मक, समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिदै जाने विश्वास लिएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत् स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक भएको पनि राष्ट्रपतिले बताउनुभएको छ ।

सन्देशमा राष्ट्रपति पौडेलले उद्यमशीलताको विकास गर्न पूँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

साथै वहाँले विश्व मजदुर दिवसले श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवम् समाजिक सुरक्षा लगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्ने तर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button