सुदूरपश्चिम प्रदेशमा पूर्ण खोप नलगाएका बालबालिका १६ प्रतिशत

धनगढी । नेपालमा करिब १६ प्रतिशत बालबालिका पूर्ण खोप लगाउनबाट छुटेका पाइएको छ । स्वास्थ्य निर्देशनालयद्वारा आज धनगढीमा आयोजित नियमित खोप तथा कोभिड खोप सम्बन्धी सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रममा त्यस्तो जानकारी दिइएको हाे ।
कार्यक्रममा स्वास्थ्य निर्देशक डा.जगदीश जोशीले नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण अनुसन्धान २०२२ को तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा पूर्ण खोप नलगाएका बालबालिका १६ प्रतिशतको हाराहारीमा रहेको उहाँले जानकारी दिनुभयो ।
नियमित खोप कार्यक्रम अन्तर्गत एक दुई पटक खोप लगाएका तर पूर्ण खोप लगाउन छुटेका बालबालिका १६ प्रतिशत रहेका छन् उहाँले भन्नुभयो यस्तै कुनै पनि खोप नलगाएका बालबालिका ४ प्रतिशत रहेको देखिन्छ, त्यसको खोजीनिती हुदैछ ।
सिजनल बसाइसराइसँगै खोप लगाउन नमान्ने समुदाय, रोजगारीको खोजीमा भारत जाने लगायतका कारण बालबालिका पूर्ण खोप लगाउनबाट छुटेका पाइएको डा.जोशीले बताउनु भयो । उहाँले नियमित खोप लगाउँदा शिशु मृत्युदर तथा मातृ मृत्युदर घटेको उल्लेख गर्दै खोप सुरक्षित छ, खोपले जीवन रक्षा गर्छ, खोप निःशुल्क छ, भन्ने सन्देश प्रवाह गरिदिन सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो ।
यसैबिच नियमित खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरि खोप सप्ताह अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मिनराज जोशीले सुदूरपश्चिम प्रदेशमा वैशाख ११ गतेदेखि १७ गते सम्म खोप सप्ताह अभियान सञ्चालन हुने जानकारी दिनु भयो । उहाँले अभियान अन्तर्गत नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख १५ गते र ३१ गते दुई दिन स्वास्थ्य संस्थामै खोप लगाउने तयारी भइरहेको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशमा नियमित खोप लगाउने ५ वर्षमुनिका बालबालिकाहरूको सङ्ख्या २ लाख ४९ हजार ५२५ रहेको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्