तपाईँ सुन्दै हुनुहुन्छः

कम्युनिष्ट पार्टीहरूबीच एकताको पहल भइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सही नीति र विचारका आधारमा कम्युनिष्ट पार्टीहरूबीच एकताको पहल भइरहेको बताउनुभएको छ ।

कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवसको अवसर पारेर नेकपा एकीकृत समाजवादीले आज काठमाडौँमा आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलन: उपलब्धि चुनौती र सम्भावना’ विचार गोष्ठीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले आफूहरू कम्युनिष्ट पार्टीहरूबीचको ध्रुवीकरणको प्रक्रियामा रहेको बताउनुभयो । 

राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिनुहुँदै प्रधानमन्त्री दाहालले केही दिनभित्रै समाजवादी मोर्चा घोषणा गरेर सबैलाई नेकपातिर फर्किन अपील गर्ने पनि बताउनुभयो । 

प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका निम्ति कम्युनिष्टहरु एक हुन जरुरी रहेको भन्दै बिना आग्रह र पूर्वाग्रह समीक्षा गरेर राष्ट्र र राष्ट्रियताको हितमा एकताको नयाँ पहल शुरु गर्न आग्रह समेत गर्नुभयो ।

यस्तै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्ने बताउनुभयो ।

काठमाडौँमा आज आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन: उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा अध्यक्ष नेपालले विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, सङ्गठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीहरू एउटै पार्टी हुने बताउनुभयो ।

अध्यक्ष नेपालले मुलुकमा विद्यमान समस्यालाई समाधान गर्नका लागि कम्युनिष्ट शक्तिहरूको विकल्प नभएको उल्लेख गर्दै सबै कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध हुन आग्रह समेत गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button