राष्ट्रिय सभा अध्यक्षसहितको ८ सदस्यीय टोली रुस प्रस्थान

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आठ सदस्यीय प्रतिनिधि मण्डलसहित रुस प्रस्थान गर्नु भएको छ ।
रुसको माथिल्लो सदन फेडेरेसन काउन्सिल अफ फेडेरल एसेम्बलीका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको औपचारिक निमन्त्रणामा अध्यक्ष तिमिल्सिना ८ सदस्यीय टोलीको प्रतिनिधित्व गर्दै बिहान रुस प्रस्थान गर्नु भएको हो ।
अध्यक्ष तिमिल्सिनाको नेतृत्वको टोलीमा राष्ट्रिय सभाका सदस्यहरु वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी रावल थापा ‘पार्वती’, महेशकुमार महरा र शेखर कुमार सिंहलगायत रहनुभएको छ ।

भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले रुसी उपल्लो सदनका अध्यक्ष मत्भिएन्को र स्टेट डुमाका अध्यक्ष भ्याचेस्लाभ भलोदिनसंग द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।
यसबाहेक रुसी सरकारका पदाधिकारीहरू, प्रान्तीय सभाका अध्यक्ष र प्रान्तीय सरकारका पदाधिकारीहरूसँग पनि भेटघाट र संवाद गर्नु हुनेछ ।
भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले रुसमा बसोबास गर्ने नेपाली डायस्पोरासंग भेटघाट गर्ने कार्यक्रम छ भने मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसनका विद्यार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

रुस प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रमणले नेपाल र रुसका बिचको सम्बन्धलाई अझै प्रगाढ बनाउने तथा भ्रमण फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने जानकारी समेत दिनुभयो ।
अध्यक्ष तिमिल्सिना सहितको प्रतिनिधि मण्डल रुसको भ्रमण पुरा गरि वैशाख १२ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्