प्रतिनिधिसभामा एक विधेयक स्वीकृत, दुई विधेयक टेबल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त “अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७” र “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७” टेबुल गर्नुभयो ।
यसअघि, प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक र राजनीतिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
बैठकको आकस्मिक समयमा सांसदहरुले सडक दुर्घटनाको न्युनिकरण, मानव बेचबिखन गर्नेलाई कारबाही, राष्ट्रिय परिचयपत्र निजी विदेशी कम्पनीलाई दिएको भनी आएका लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले काठमाडौँ विश्वमै फोहर सहरमा परिणत हुँदा क्यान्सरलगायत रोगका बिरामी बढेकाले राजधानीमा प्रदूषणको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्भन्दा बाहिर ‘व्यवस्था उल्ट्याउन खोजेको’ भनी भाषण गर्नुभएको प्रति आपत्ति प्रकट गर्दै यस्ता विषय संसद्मा आएर राख्न सुझाव दिनुभयो ।
सांसदहरुले राष्ट्रिय«य परिचयपत्र रुजु गर्ने जिम्मा निजी विदेशी कम्पनीलाई दिने निर्णय प्रति आपत्ति जनाउँदै सात दिनभित्र बोलपत्र गरेर गरिएको निजी कम्पनीलाई दिने निर्णय अवैध रहेको बताउनुभयो ।
यसैबीच, प्रतिनिधिसभाको आजको बैठकले पूर्व सांसद एवं नेपाली कांग्रेसका नेता तेजमान तुम्बाहाम्फेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
नेपाली काँग्रेसको तर्फबाट वि.स २०१५ सालको आम निर्वाचनमा धनकुटा जिल्लाको साविक क्षेत्र नं २६ बाट निर्वाचित सांसद तुम्बाहाम्फेको ९७ वर्षको उमेरमा गत चैत २४ गते शुक्रवार निधन भएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक वैशाख ५ गते मङ्गलवार दिउसो १ः०० बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्