तपाईँ सुन्दै हुनुहुन्छः

संघ र स्थानीय सरकारबीचको द्वन्द्व आपसी संवादमार्फत समाधान गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संघ र स्थानीय सरकारबीचको आन्तरिक द्वन्द्व आपसी समझदारी र संवाद मार्फत नै समस्याको समाधान गर्नुपर्ने बताउनुभएको छ । 

मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले  पछिल्लो समय काठमाडौँ महानगरपालिकाको कार्य प्रवृत्तिप्रति सरकार गम्भीर रहेको र समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो । 

मन्त्री शर्माले फोहोर व्यवस्थापन स्थानीय तहको एकल अधिकार भित्र पर्ने र कुनै उद्देश्य पूर्तिका लागि आम नागरिकको स्वास्थ्यलाई असर गर्ने किसिमका अनुचित क्रियाकलापले समाजमा नकारात्मक सन्देश समेत जाने हुँदा समस्याहरूलाई आपसी संवाद र समझदारीका माध्यमबाट नै समाधान गर्न दुवै सरकार तयार हुनुपर्ने स्पष्ट पार्नुभयो ।

यस्तै गत २४ र २८ गते बसेको मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने, कुखुराको दानाको गुणस्तर वा मात्रा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषद् गठन आदेश, २०७५को अनुसूची संशोधन गर्ने, व्यापार घाटा न्यूनीकरणसम्वन्धी राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत गर्ने, जुगल हिमशृङखलाका हिमचुलीहरू पर्वतारोहणका लागि खुला गर्ने निर्णय पनि भएको मन्त्री शर्माले बताउनुभयो । 

सरकारले निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका स्वीकृत गर्ने, कोशी प्रदेश नामाकरणको विषयलाई लिएर विराटनगरमा भएको प्रदर्शनमा मृत्यु भएका पदमकुमार लिम्बुलाई शहिद घोषणा गर्ने र परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध लगाउने लगायतका निर्णय गरेको छ । 

मन्त्रिपरिषद्का निर्णयहरू यस प्रकार छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button