तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य सरोकार कार्यक्रम प्रसारण सम्बन्धी सम्झौता


पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखरा बिच हाम्रो स्वास्थ्य सरोकार कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा.विनोद विन्दु शर्मा र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराका प्रमुख सुरेन्द्र प्रसाद यादवले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार हाम्रो स्वास्थ्य सरोकार कार्यक्रम प्रत्येक हप्ताको आइतबार साँझ ५.१५ देखि ५.४५ सम्म र बुधवार अपराह्न ४.०५ बजेदेखि ४.३५ बजे सम्म प्रसारण हुनेछ ।

सम्झौता पछि मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले कार्यक्रमले गण्डकी प्रदेशका जनतामा स्वास्थ्य सम्बन्धी जनचेतना जगाई कोभिड लगायतका विभिन्न सङ्क्रामक रोग नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो भने रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराका प्रमुख सुरेन्द्र प्रसाद यादवले सहकार्यको सम्झौता गरेकोमा धन्यवाद व्यक्त गर्नु हुँदै मन्त्रालयको उद्देश्य अनुरुप लक्षित समुदाय लाभान्वित हुने अपेक्षा राख्नुभयो ।

उक्त कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखराको मिडियम वेभ ६८४ किलोहर्ज ,एफ.एम व्याण्डको १०० मेगाहर्जमा पोखरा साथै तनहुँको वन्दीपुर र पर्वतको दुर्लुङकोटबाट त्यसैगरी एफ.एम १०३ मेगाहर्जमा नवलपुरको दाउन्ने रीले स्टेशनबाट एकैसाथ प्रसारण हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button