उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काद्वारा जङ्गी अड्डाको निरीक्षण

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको सामरिक अवस्थिति र विद्यमान विश्व परिवेश अनुरूपको सन्तुलित व्यवहार जरुरी रहेको बताउनुभएको छ ।
जङ्गी अड्डाको आज निरीक्षण भ्रमण गर्नुहुँदै उप प्रधानमन्त्री खड्काले जनताको आशा र विश्वास जगाउन रक्षा मन्त्रालय तथा नेपाली सेना मिलेर पारिवारिक परिवेशमा कार्य गर्दा आशातीत उपलब्धी हुने बताउनुभयो ।
उहाँले नेपाली सेनाले विकास निर्माणका कार्यहरूमा संलग्न रही देशका दुर्गमस्थलहरुलाई सडक सञ्जालमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै विपद् प्रतिकार्य तथा कोभिड महामारीको समयमा नागरिकको उद्धारमा खटिएर जनताको मनमा बस्न सफल रहेको बताउनुभयो ।
उप–प्रधानमन्त्री खड्काले पर्यावरण संरक्षणमार्फत वातावरणीय असन्तुलनलाई सम्बोधन गरेर विश्व मानव समुदायलाई नै नेपाली सेनाले देन दिएको बताउनुभयो ।

उहाँले नेपाली सेनाले मित्रराष्ट्रका सैनिक सङ्गठनहरूसँग कायम गरेको अद्वितीय, ऐतिहासिक सु–सम्बन्धका कारण देशले विभिन्न प्रकारका विपद् तथा महामारीमा कठिनाइ भोगेका बेला समस्या समाधान गर्न सकेको प्रसङ्ग उल्लेख गर्दै नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
उप–प्रधानमन्त्री खड्काले निर्माणाधीन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सुरक्षा सम्बन्धि अध्ययन, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्बन्धको विस्तारका क्षेत्रमा धरोहर हुने भएकोले यथाशीघ्र यसको भौतिक संरचना निर्माण सम्पन्न गरेर सञ्चालन गर्न सरकार र आफ्नो तर्फबाट सदैव सहयोग हुने कुरा बताउनुभयो ।
राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग आयोजनासँग जोडिएका नीतिगत, प्रक्रियागत समस्याहरूको समाधान गर्नेतर्फ प्रयासहरू भइरहेको र आयोजनाको कार्य छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट सबै किसिमको सहयोग रहने बताउनुभयो ।

त्यस अवसरमा प्रधान सेनापति प्रभुराम शर्माले उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीलाई बधाई ज्ञापन गर्नु हुँदै नेपाली सेनाका सकल दर्जाको तर्फबाट जङ्गी अड्डामा स्वागत गर्नुभयो ।
उहाँले नेपाली सेना संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न तथा नेपाल सरकारबाट विशेष परिस्थितिहरूमा निर्दिष्ट गरिने कानून बमोजिमका अतिरिक्त जिम्मेवारीहरू वहन गर्न सदैव तत्पर रहेको बताउनुभयो ।

प्रधान सेनापति शर्माले बदलिँदो क्षेत्रीय र अन्तर्राष्ट्रिय बहुआयामिक चुनौतीहरू र त्यसबाट राष्ट्रिय सुरक्षामा पर्नसक्ने सम्भावित प्रभावको प्रतिकारका लागि नेपाली सेनाको समयानुकूल आधुनिकीकरणसँगै क्षमता विकास हुन आवश्यक रहेको बताउँदै नेपाली सेना नेपाल सरकार, रक्षा मन्त्रालय र नेपाली जनताको अपेक्षा अनुरुप कर्तव्यनिष्ठ भई आफ्नो भूमिका निर्वाह गर्न सदैव कटिबद्ध रहेको बताउनुभयो ।
रक्षा सचिव किरणराज शर्माले नेपाली सेनाको समग्र क्षमता विकास लगायत विद्यमान कठिनाइहरू समाधानमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीबाट जिम्मेवारी सम्हाले लगत्तै चासो तथा महत्त्वका साथ निर्देशनहरू प्राप्त भइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्