बिग्रिएको मित्रता सुधार्ने माध्यम खेल : एमाले अध्यक्ष ओली
रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुदको माध्यमबाट बिग्रिएको मित्रता सुधार्न सकिने बताउनुभएको छ ।
खेलकुद र खेलाडीमा हुने अनुशासनले जीवनलाई असल बाटोमा डोराउने मात्र होइन विश्वमै यसले बिग्रिएको मित्रता सपारेका धेरै उदाहरण भएको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय खेल दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको लुम्बिनी पीस हाफ म्याराथन प्रतियोगितामा विजयीलाई पुरस्कार वितरण तथा एकेडेमीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले सबै प्रकारका खेलले जीवनलाई तन्दुरुस्त बनाएर लयमा हिँडाउने बताउनुभयो ।

अध्यक्ष ओलीले शान्ति र विकाससँग खेललाई जोडेर अगाडि लैजानुपर्ने बताउँदै भन्नुभयो–‘विश्वले नै शान्ति र विकासका लागि खेल भन्ने नारा तय गरेको छ, हामीले पनि यसैलाई अङ्गीकार गरेर अगाडि जानुपर्दछ, खेल क्षेत्रको विकासबाट, खेलाडीको सम्मानबाट मात्रै सबै क्षेत्रको विकास हुनेछ ।’
लुम्बिनी सभा हलमा आयोजित सभामा उहाँले एकेडेमीले खेलकुद दिवसको अवसरमा सुरुवात गरेको म्याराथन प्रतियोगिताले सबैतिर शान्तिको सन्देश दिएको बताउनुभयो ।
५ वर्षअघि लुम्बिनीमा बुद्ध जयन्ती मनाउँदा हावाहुरीले मञ्च भत्काएपछि आफूले तत्काल सभाहल बनाउने घोषणा गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास गरिएको स्मरण गर्दै ओलीले यसबाट लुम्बिनीमा धेरै कार्यक्रम गर्न सकिने भएकाले उचित संरक्षण गर्न आग्रह गर्नुभयो ।
म्याराथन प्रतियोगिता तथा एकेडेमीको भेलामा देशका ७७ जिल्लाबाट २५ सय प्रतिनिधि आएको अध्यक्ष ध्रुव आचार्यले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्