तपाईँ सुन्दै हुनुहुन्छः

अब देशमा राजनीतिक स्थायित्व कायम हुनेछ : प्रधानमन्त्री दाहाल

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताउनुभएको छ । 

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्नुहुँदै उहाँले अब देशमा राजनीतिक स्थायित्व कायम हुने छ भन्नुभयो । 

नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्नेछ भन्ने मलाई विश्वास छ ।” सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर विकास र समृद्धिको दिशातर्फ लैजान आफू लागिपरेको जनाउँदै उहाँले भन्नुभयो, “मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने नै रहेको छ ।”  ६२ वर्षअघि सुरु भएको भरतपुरको विमान उडान कार्य अहिले आएर विस्तार र टर्मिनल भवन निर्माणको कार्य सुरु हुनेले छुट्टै महत्त्व बोकेको उहाँले बताउनुभयो । यो आयोजना सम्पन्न भएसँगै ७२ सिटे जहाजको उडान र अवतरण सुरु हुने र यसले चितवनको मात्रै नभएर राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुग्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा पछिल्लो समय सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधानका लागि सरकार लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो छिमेकी राष्ट्र भ्रमणका क्रममा अन्तर्राष्ट्रिय उडानको रुटका विषयमा महत्त्वका साथ छलफल गर्नेछु ।” 

लुम्बिनी विमानस्थलका विषयमा भारत भ्रमणका क्रममा र पोखरा विमानस्थलका विषयमा चीनसँग छलफल गर्ने उहाँले बताउनुभयो । सरकारले निजगढ विमानस्थल निर्माणलाई महत्त्वका साथ अघि बढाएको उहाँको भनाइ छ । द्रुतमार्ग निर्माणसँगै निजगढ विमानस्थलको निर्माणको कामसमेत अघि बढाइने उहाँले बताउनुभयो ।

चितवनको मेघौली विमानस्थल निर्माणको काम सुरु भएको जनाउँदै उहाँले त्यहाँबाट समेत छिट्टै उडान हुने बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनमा रहेको अर्को मेघौली विमानस्थलसमेत सञ्चालनको प्रक्रियामा गयो ।”  विमानस्थलको विकास र विस्तारले यहाँको पर्यटनको विकासका दृष्टिले नयाँ कोशेढुङ्गाका रुपमा काम गर्ने उहाँको विश्वास थियो । भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको ब्यारेकलाई भरतपुर महानगरपालिका–१ स्थित दियालो बङ्गलामा र घोडा प्रजनन केन्द्रलाई भरतपुर–११ गणेस्थान नजिक स्थानान्तरण गर्ने सैद्धान्तिक सहमति भएको जनाउँदै उहाँले स्थानान्तरणका लागि एक दुई दिनमा सहमति हुने बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण चाँडै सुरु हुने जानकारी दिनुभयो । रङ्गशालाको समस्या एक दुई हप्तामा समाधान हुने र निर्माण अगाडि बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो रङ्गशाला, मलाई लाग्छ एक या दुई हप्ताभित्र त्यसको सबै समस्या समाधान हुन्छ र निर्माण अगाडि बढ्छ ।”

कार्यक्रममा नागरिक उड्डयन, संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीले सरकार ग्रामीण स्तरमा समेत हवाई उडान गर्ने योजनामा रहेको बताउनुभयो । 

ग्रामीण स्तरको ‘लाइफलाइन’का रुपमा यसको विकास गर्न मन्त्रालय लागिपरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हवाई सुरक्षा माथि उठेका प्रश्न शून्य बनाउँदै ग्रामीण स्तरमा समेत सेवा पुर्‍याउन लागिपरेका छौँ ।” नेपाल वायुसेवा निगमका जहाजलाई अन्तर्राष्ट्रियस्तरमा र आन्तरिक स्तरमा समेत प्रभावकारी बनाउने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “पर्यटकीय क्षेत्रमा नयाँ उडान गर्ने योजना रहेको छ ।” भरतपुर विमानस्थलको विस्तार र टर्मिनल भवन निर्माणसँगै रात्रिकालीन उडान र अवतरणसमेत सुरु हुने उहाँको भनाइ थियो । 

सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मकट्टेलले भरतपुर विमानस्थल विस्तारको कामले बागमती प्रदेशमा नै खुशियाली छाएको बताउनुभयो । काठमाडौँपछि प्रदेशमा दोस्रो ठूलो विमानस्थल चितवनमा बन्न लागेको भन्दै उहाँले यसमा आवश्यक सहयोग प्रदेश सरकारले समेत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलको विस्तारका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको छ ।”

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, हरि सापकोटा, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक  प्रदीप अधिकारी लगायतले बोल्नुभएको थियो ।

नयाँ टर्मिनल भवन र विस्तारको काम सुरु गरिएको यस विमानस्थल सन् १९५८ मा निर्माण सम्पन्न भई पहिलो उडान सन् १९६१ मार्च ५ मा भएको थियो । सन् १९९४ मा एक हजार एक सय ५८ मिटर धावनमार्ग बनाइएको यो विमानस्थलको सन् १९९८ मा एशियाली विकास बैङ्कको सहयोगमा कालोपत्र गर्ने काम सम्पन्न भएको सो अवसरमा जानकारी दिइएको थियो ।

देशको मध्य भागमा पर्ने भएकाले सन् १९८८ मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यले अध्ययन गरिएको भए पनि वातावरणीय र पर्यावरणीय दृष्टिकोणले क्षति हुनसक्ने भएपछि काम अघि बढ्न सकेको थिएन । ५८ बिघा क्षेत्रफलमा फैलिएको यस विमानस्थलको धावनमार्ग अहिले एक हजार दुई सय मिटरको छ । विस्तारपछि धावनमार्ग एक हजार पाँच सय मिटरको हुनेछ । नयाँ टर्मिनल भवनमा एक हजार यात्रुले सहजरुपमा उपभोग गर्न सक्ने गरी बनाउन लागिएको छ ।

१४ कठ्ठा क्षेत्रफलमा आठ हजार वर्ग मिटरको दुईतले टर्मिनल भवन निर्माण गरिनेछ । भवनसँगै आठ तले कन्ट्रोल टावर, पार्किङजस्ता अन्य संरचना निर्माण गरिनेछ । यसका लागि रु एक अर्ब ९२ करोडमा निर्माण कम्पनी केसी–क्षमादेवी–प्रतिष्ठा जेभीले तीन वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेका छन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button