‘नागरिकता विधेयक ल्याउन अब ढिला गर्न नहुने’

काठमाडौँ । राजनीतिक दलका प्रमुख सचेतक एवं नेताहरूले नागरिकता विधेयक ल्याउन अब ढिला गर्न नहुनेमा जोड दिनुभएको छ ।
नागरिकता विधेयक: राजनीतिक दलको दृष्टिकोण विषयमा राजनीतिक दलका प्रमुख सचेतक र नेताहरूसँग आज काठमाडौँमा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख सचेतक एवं नेताहरूले छिटोभन्दा छिटो नागरिकता विधेयक ल्याएर पास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नागरिकता निकै संवेदनशील विषय भएकाले चाँडोभन्दा चाँडो विधेयक ल्याएर विषयवस्तु र प्रक्रियामा छलफल गरी छिटो पारित गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।
नेकपा एमालेका नेता ऋषिकेष पोखरेलले नागरिकताको विषयलाई राजनीतिक विषय नबनाई राष्ट्रियता र सबैको साझा विषय बनाएर सहमतिमा छिटो टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नागरिकता विधेयक छिटो ल्याउने विषयमा छलफल भइरहेको भन्दै नागरिकता विधेयक छिटो पास गरेर कार्यान्वयनमा जान ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो ।
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले जनतासँग प्रत्यक्ष जोडिएको नागरिकता विधेयक महत्वपूर्ण विषय भएकाले यसलाई प्राथमिकतामा राखेर अगाडी बढाउन प्रधानमन्त्रीलाई सुझाव दिएको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता विधेयक अगाडी लैजाने विषयमा सरकारसँग छलफल गरिरहेको बताउनुभयो ।
जनता समाजवादीका नेता रञ्जु झाले कुनै पनि नागरिक नागरिकता विहीन बन्नुपर्ने अवस्थाको अन्त्य गर्न ढिला गर्न नहुनेमा जोड दिँदै नागरिकताको सवालमा सर्वोच्चको फैसला नै कार्यान्वयन नहुने अवस्था आउनु दुखद भएको बताउनुभयो ।
जनमत पार्टीका प्रमुख सचेतक अनिता साहले नागरिकता विधेयक संसदमा ल्याउन ढिला भइरहेकाले अब धेरै ढिला गर्न नहुनेमा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्