सत्ता गठबन्धन बैठकमा मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल

काठमाडौं । सत्ता गठबन्धन दलहरूको आजको बैठकमा मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजेदेखि बसेको बैठकमा मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल भए पनि टुङ्गो लाग्न नसकेपछि थप छलफलका लागि बैठक भोलि फेरि बस्ने बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो ।
आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस गरिएको थियो । त्यसमाथि भोलि थप छलफल गरी अन्तिम रूप दिइने पनि नेता लेखकले बताउनुभयो ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहभागी हुनुभएको थियो ।
यस्तै बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आम जनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत सत्ता गठबन्धन दलका शीर्ष नेताहरू पनि सहभागी हुनुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले गत चैत्र ६ गते दोस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिनुभएपछि मन्त्रिपरिषद् विस्तार र सरकारको न्यूनतम साझा कार्यक्रमबारे गठबन्धन दलहरूबीच निरन्तर छलफल हुँदै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्