तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुङ्गामा सवारी दुर्घटना कम गर्न ‘टाइमकार्ड’

ओखलढुङ्गा । ओखलढुङ्गामा तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि टाइमकार्ड लागु गरिएको छ । ओखलढुङ्गाबाट छुट्ने लामो तथा छोटो दुरीका सबै सार्वजनिक सवारीहरूका लागि टाईमकार्ड लागु गरिएको हो । 

जिल्लामा पछिल्लो समय दुर्घटना बढेकाले तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागु गरिएको ओखलढुङ्गा ट्राफिक प्रहरी प्रमुख होमप्रसाद खतिवडाले बताउनुभयो । टाइमकार्डमा निर्धारण गरिएको समयमा निश्चित दुरीमा मात्र सवारी कुदाउन पाईने गरि टाइमकार्डको व्यवस्था गरिएको प्रमुख खतिवडाको भनाई छ । 

‘यात्रुलाई छिटो पुग्नुपर्ने चालकलाई जतिसक्दो कुदाउन मन लाग्ने हुँदा सवारीको गति बढ्छ । तीव्र गतिको सवारी दुर्घटनाको जोखिममा पर्छ । सवारी अनियन्त्रित भएरै धेरैजसो दुर्घटना भएका छन् ।’ प्रमुख खतिवडाले भन्नुभयो, ‘तीव्र गतिका कारण हुने दुर्घटना रोक्न हामीले टाइमकार्ड लागु गरेका छौँ । निश्चित समय तोकिएको हुन्छ यदि त्यो समयभन्दा अगाडी आइपुग्ने सवारीलाई प्रहरीले तत्काल कारबाही गर्छ ।’ 

पत्ताले–सोलु सल्लेरी एक घण्टा ३० मिनेट, ओखलढुङ्गा–जन्तरखानी ठाडे एक घण्टा १५ मिनेट, मानेभञ्ज्याङ–गोरुमारेभञ्ज्याङ मिलनचोक एक घण्टा र हर्कपुर–मानेभञ्ज्याङका लागि ४५ मिनेटको समयसिमा निर्धारण गरिएको छ । अधिकांश सवारी दुर्घटना तीव्र गतिका कारण भएको भन्दै निश्चित दुरी पार गर्न समय तोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

जिल्लामा यसअघि पनि टाइमकार्डको लागु गरिएको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । पछिल्लो समय प्रहरीले टाइमकार्ड हेर्न छाडेपछि चालकले सक्दो तीव्र गतिमा सवारी चलाउने गरेका थिए । 

यसैबीच ओखलढुङ्गा र सोलुखुम्बुबाट काठमाडौँ लगायत देशका विभिन्न स्थानमा आवतजावत गर्ने सार्वजनिक सवारीले अनिवार्य बस पार्कमा प्रवेश गराउनु पर्ने व्यवस्था गरिएको छ । सिद्धिचरण नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत सुरक्षा निकाय र सरोकारवाला कार्यालयहरूको सर्वपक्षीय बैठकले दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागु गर्ने र रमाइलो डाँडाको बसपार्क सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button