नव प्रवर्द्धन कोषमार्फत गलकोटको बाँझो जग्गामा ओखर खेती
बागलुङ । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै स्थानीय किसानलाई प्रोत्साहन गर्न नवप्रवर्द्धन कोषमार्फत चालु आर्थिक वर्षदेखि ओखर खेती शुरु गरेको छ ।

गण्डकी प्रदेशमा नव प्रवर्द्धन कोषमार्फत गलकोटसहित तीन पालिकामा यो कार्यक्रम लागू भएको छ । जनताको आर्थिक विकासमा टेवा पुर्याउने र बाँझो जग्गालाई सदुपयोग गर्ने नीतिका साथ संघ र गलकोट नगरपालिकाको साझेदारीमा ओखर खेती थालिएको हो ।
चालु आर्थिक वर्षमा २ करोड २० लाखको लागतमा ६ सय २५ रोपनी जग्गामा १० हजार ओखरका बिरुवा लगाउने योजना अनुसार काम भइरहेको नगर प्रमुख भरत शर्मा गेरैले बताउनुभयो । ओखर खेतीमा चालु आर्थिक वर्षमा २ करोड र आगामी चार आर्थिक वर्षमा २ करोड गरी ४ करोड रुपैयाँ खर्च हुने उहाँले बताउनुभयो ।
यस वर्ष २ करोड २० लाख लागतमा खाडल तयार, बिरुवा खरिद र सिँचाइ सुविधाका लागि पूर्वाधार निर्माण हुनेछ भने चार आर्थिक वर्षमा पुनः २ लाख खर्च गरी ओखर उत्पादनको चरणमा पुगेपछि स्थानीयलाई हस्तान्तरण गरिने छ ।
चालु आर्थिक वर्षमा १ करोड ४० लाख संघीय सरकार, गलकोट नगरपालिकाको ६० लाख र किसानको २० लाख सहकार्य हुने कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताउनुभयो । दुदिलाभाटीको पात्लेखर्क, डाँडा खेतदेखि निलुवा, पाण्डव खानीको रमुवामा छ सय २५ रोपनी जग्गामा १० हजार ओखरका बिरुवा लगाइने भएको छ ।
६ सय २५ रोपनी जग्गामध्ये ५ सय रोपनी जग्गा बाँझो रहेको अध्ययनले देखाएको जानकारी दिँदै उहाँले बाँझो जग्गा सदुपयोग र किसानको आर्थिक विकासका लागि ओखर खेती हुने सम्भावना देखिएपछि धमाधम काम भइरहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्