तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

पोखरा । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि आज बसेको संसदीय दलको बैठकले गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

प्रदेश सरकारबाट आफूहरू बाहिरिने र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको माओवादी संसदीय दलका नेता तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले जानकारी दिनुभयो । 

गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्री छन् । उनीहरूले आजै मुख्यमन्त्री समक्ष राजीनामा दिने तयारी गरेका छन् । 

गत पुस २५ गते नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारमा माओवादी सामेल भएको थियो ।

माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारीले १ महिनाभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने हुन्छ । 

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसद आवश्यक पर्छ । 

गण्डकीमा काँग्रेसको २७, एमालेको २२ माओवादीको ८ र राप्रपाको २ सिट रहेको छ । मनाङबाट सर्वसम्मत स्वतन्त्र सांसद बन्नुभएका राजीव गुरुङ ( दिपक मनाङ) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेसँगै गण्डकीमा नेकपा एकीकृत समाजवादीको पनि प्रतिनिधित्व छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button