आम सञ्चार क्षेत्र नियमनका विषयमा सुझाव दिन समिति गठन
काठमाडौँ । सरकारले आमसञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुन तथा नियमनका विषयमा सुझाव दिन समिति गठन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा. सुरेश आचार्यको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
समितिका सदस्यहरूमा महासङ्घका पूर्व अध्यक्ष द्वय गोविन्द आचार्य र डा. महेन्द्र विष्ट, वर्तमान अध्यक्ष विपुल पोख्रेल र वरिष्ठ पत्रकार बबिता बस्नेत रहनुभएको छ ।
आमसञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनाउन गर्नुपर्ने कार्य, अन्य मुलुकको अनुभव समेतका आधारमा आमसञ्चार क्षेत्रका सम्बन्धमा गर्नुपर्ने नीतिगत तथा कानुनी व्यवस्था र आमसञ्चार क्षेत्रको नियामकीय क्षमता वृद्धि गर्ने उपायका बारेमा सुझाव दिने समितिलाई जिम्मा दिइएको छ ।
यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेका आमसञ्चार सम्बद्ध नीति तथा कानुनको मस्यौदामा परिमार्जन गरी समयसापेक्ष बनाउनुपर्ने विषयमा सुझाव प्राप्त भएपछि त्यसमाथि सरोकारवालाहरूसँग छलफल र अन्तरक्रिया गरी सोबाट प्राप्त सुझावलाई समावेश गरेर आम सञ्चार विधेयकको अन्तिम मस्यौदा तयार गर्न पनि समितिलाई जिम्मेवारी दिइएको छ ।
समितिले काम थालेको ३० दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्य क्षेत्र निर्धारण गरिएको छ ।
तस्वीरः गोरखापत्र अनलाइन






प्रतिक्रिया राख्नुहोस्