‘ए’ डिभिजन लिग : फ्रेन्ड्स क्लबको पहिलो जित
काठमाडौँ । फ्रेन्ड्स क्लबले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलवार १० खेलाडीमा सीमित जावलाखेल यूथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले पहिलो जित निकालेको हो ।
फ्रेन्ड्सको जितमा राफिक एमिनु र प्रकाश बुढाथोकीले एक एक गोल गरे । यस जितसँगै पहिलो जित निकालेको फ्रेन्ड्सले ४ खेलमा ४ अङ्क जोडेको छ ।
जावलाखेलको यो पहिलो हार हो । जावलाखेलले ४ खेलमा ७ अङ्क जोडेको छ ।
शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड बराबरीमा रोकिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मङ्गलवार चर्च ब्वाइजले सङ्कटा क्लबसँग गोलरहित बराबरी खेलेको हो ।
प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । खेलको इन्जुरी समयमा सङ्कटाका मनिष डाँगी पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार चर्चका गोलकिपर प्रिसोले बचाए । चर्चका डिफेन्डर कमल श्रेष्ठले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि सङ्कटाले पेनाल्टीको अवसर पाएको थियो ।
नव प्रवेशी चर्च ब्वाइजको यो पहिलो बराबरी हो । चर्चले अघिल्लो तीन खेलमा लगातार जित निकालेको थियो । चर्च ब्वाइज ४ खेलमा १० अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।
सङ्कटाले ४ खेलमा ५ अङ्क जोडेको छ । सङ्कटा आठौँ स्थानमा रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्