सेवा प्रवाहमा कमी नगर्न गृहसचिव सिंहको निर्देशन

सुर्खेत । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएका सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनु भएको छ । आज जिल्ला प्रशासन कार्यालय सुर्खेतको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन तथा निरीक्षण गर्दै गृह सचिव सिंहले आम नागरिकलाई सुशासनको प्रत्याभूति हुने गरि छिटोछरितो, कम खर्चिलो र सर्वसुलभ सेवा प्रवाह गर्न निर्देशन दिनु भएको हो ।
भवन ठूलो भएर मात्रै नपुग्ने भन्दै उहाँले सेवाग्राहीमैत्री सेवा प्रवाहका लागि आवश्यक आधारभूत सेवाहरू समेत उपलब्ध गराउन निर्देशन दिनु भयो । उहाँले राज्यबाट नागरिकका लागि थप हुने सेवा सुविधालाई सेवाग्राही मैत्री बनाउन नागरिक समाज तथा दाताहरूबाट समेत स्वैच्छिक सहयोग लिन सकिने धारणा व्यक्त गर्नु भयो ।

यता सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले प्रशासन कार्यालयका लागि आउने न्यूज बजेटले सोचेजस्तो अपेक्षाकृत आधुनिक सेवा प्रवाहमा समस्या भइरहेकाले बताउनुभयो । उहाँले नयाँ भवन निर्माण भएसँगै आवश्यक साधन स्रोतका लागि थप बजेट पठाई दिन गृह सचिवसँग आग्रह गर्नु भयो ।
कार्यक्रममा करिब साढे ७ करोड लागतमा नवनिर्मित जिल्ला प्रशासन कार्यालयको सुविधा सम्पन्न चार तले भवन तोकिएको समय भन्दा ७ महिना अगावै निर्माण गरेबापत ठेकेदार कम्पनी सुनकोशी-प्रजिल-अभियान जेभी काठमाडौँलाई गृहसचिव सिंहले सम्मान समेत गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्