तपाईँ सुन्दै हुनुहुन्छः

डढेलो फैलिदा करोडौँको वन सम्पदा नष्ट

वीरगंज । सुक्खायाम सुरु भएसँगै मधेश प्रदेशको पर्सा राष्ट्रिय निकुञ्ज र बारा, रौतहटको राष्ट्रिय बन क्षेत्रमा अनियन्त्रित रुपमा डढेलो फैलिदा करोडौँको बन सम्पदा जलेर नष्ट भएको छ । 

विगत दुई साता देखि वन क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । पर्सा राष्ट्रिय निकुञ्ज तथा बारा र रौतहटको राष्ट्रिय वन क्षेत्रमा बर्सेनि लाग्ने डढेलोको कारण करोडौँको वन सम्पदा नष्ट हुँदै आएको छ । तर डढेलो नियन्त्रण तर्फ प्रभावकारी कदम नचाल्दा बर्सेनि समस्या बढ्दै गएको  छ । 

डढेलो नियन्त्रणका लागि संघीय र प्रदेश सरकारले वन कार्यालयलाई बजेट दिने गरेको छ । बजेट खर्च हुन्छ पनि । तर, डढेलो नियन्त्रण प्रभावकारी भएको छैन । 

विगतका वर्षहरूमा वनमा लागेको डढेलो गाउँमा पस्दा बारा, पर्सा, रौतहटमा लाखौँको क्षति भएको थियो । मधेश प्रदेश सभा सदस्यमा पर्साबाट निर्वाचित जनार्दन सिंह क्षेत्रीले सुक्खा लागेसँगै वनभित्रको सुकेको पत्तकर सफा गर्ने, वन प्रवेशमा कडाइ गर्ने र सलाई–लाइटरजस्ता वस्तु लैजान रोक लगाउन सम्बन्धित निकाय चनाखो हुनु पर्ने बताउँदै डढेलो लाग्नुअघि कुनै तयारी नहुने प्रवृत्तिको कारण बर्सेनि वनमा लाग्ने डढेलो टाउको दुखाइको विषय बन्दै गएको बताउनु भयो । 

विगत दुई दशक यता वनमा डढेलो नियन्त्रण गर्ने बहानामा गोष्ठी–सेमिनारमा मात्र बजेट खर्च हुने गरेको र प्रभावकारी डढेलो नियन्त्रण तर्फ राज्यका संयन्त्रहरू परिचालन नहुँदा समस्या बढ्दै गएको क्षेत्रीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button