तपाईँ सुन्दै हुनुहुन्छः

सेवा विस्तारको तयारीमा कर्णाली प्रदेश अस्पताल

सुर्खेत । प्रदेशको मातहतमा आएपछि लयमा फर्किएको कर्णाली प्रदेश अस्पताललाई थप सुविधा सम्पन्न बनाउन लागिएको छ । जसका लागि पाँच सय शैयासहितको भौतिक संरचना निर्माण गर्न थालिएको हो । 

अस्पतालले पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै भौतिक पूर्वाधार विकासका काम पनि धमाधम अघि बढाएको छ । अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरणसहितको विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा प्रदान गरिने जनाइएको छ ।

अस्पतालका निर्देशक डा डम्बर खड्काले अस्पताललाई पाँच सय शय्याको बनाउने गरी भवनको तला थप गर्न लागिएको बताउनु भयो । तला थप गर्नका लागि प्रदेश सरकारले करिब डेढ अर्ब बजेट छुट्याएको छ । आगामी तीन वर्षमा निर्माण गरिसक्ने गरी काम अघि बढाउन लागिएको निर्देशक खड्काले बताउनुभयो । भौतिक पूर्वाधार विकास सँगै अस्पतालको स्वास्थ्य सेवामा पनि सुधार र विस्तार गरिने निर्देशक खड्काको भनाई छ । 

अस्पताल आएका बिरामीलाई अन्यत्र स्वास्थ्य संस्थामा रिफर गर्न नपर्ने गरी सुविधा विस्तार गर्न लागिएको जनाइएको छ । हालै मात्र अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा पनि सञ्चालनमा ल्याएको छ । यसैगरी अस्पतालले अप्थाल्मोलोजी, न्युरो सर्जरी र स्पाईन सर्जरी सेवा पनि थप गरेको छ । अक्सिजन प्लान्ट तथा पाइपलाइन जडान तथा सञ्चालनसमेत गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button