जनकपुरधामको अन्तरगृह परिक्रमासँगै मिथिला परिक्रमा सम्पन्न

जनकपुरधाम । पन्ध्र दिने मध्यमा मिथिला परिक्रमाको अन्तिम दिन परिक्रमका सहभागीहरूले आज अन्तरगृह परिक्रमा गरेपछि सम्पन्न भएको छ ।
जनकपुरधामको हनुमानगढीबाट शुरु भएको मध्यमा मिथिला परिक्रमका तीर्थयात्रीहरू हिजो जनकपुरधाम आएर जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदान, तीरहुतियागाछी, हनुमान गढी, गंगासागर क्षेत्र, रत्नसागर सहितको क्षेत्रमा रात्रि विश्राम गरेर आज बिहान ३ बजे देखि नै अन्तरगृह परिक्रममा सहभागी भएर आ–आफ्नो घर तर्फ प्रस्थान गरेका छन् ।
धनुषाको ठेरा कचुरीवाट मिथिला विहारी अर्थात् भगवान् राम तथा जनकपुरधामको अग्निकुण्डवाट किशोरी जी अर्थात् माता सीताको डोला सँगै हजारौँ तीर्थयात्रीहरू नेपाल भारतको १५ पडाव स्थलमा रात्रि विश्राम गर्दै नेपालको १ सय ७ किलो मिटर तथा भारतको २६ किलोमिटर गरेर १ सय ३३ किलोमिटरको दूरी खाली खुट्टा भजन कीर्तन सहित तय गरेका छन् ।

मध्यमा मिथिला परिक्रमका तीर्थयात्रीहरू जनकपुरधामको पञ्चकोशी अन्तरगृह परिक्रमामा अनिवार्य रुपमा सहभागी हुनु पर्ने धार्मिक मान्यता भएकाले अन्तरगृह परिक्रमामा सहभागी भएर तीर्थयात्रीहरू आ–आफ्नो घर तर्फ प्रस्थान गरेका छन् ।
१५ दिने मध्यमा मिथिला परिक्रममा सहभागी नभएकाहरूले पनि जनकपुरधामको अन्तरगृह परिक्रममा सहभागी हुँदा विशेष फल प्राप्त हुने भएकाले अन्तरगृह परिक्रममा लाखौँ व्यक्ति सहभागी भएका छन् । बिहान ३ बजे देखि नै पञ्चकोशी अन्तरगृह परिक्रमा मार्ग तीर्थयात्रीहरूले पूर्ण रुपमा भरिएका थिए ।

मध्यमा मिथिला परिक्रमामा तथा अन्तरगृह परिक्रमामा सहभागी हुनका लागि नेपाल भारतबाट ठूलो सङ्ख्यामा तीर्थयात्रीहरू आएका थिए । यस वर्ष कोरोना महामारीको अवस्था नभएका कारणले विगत वर्ष भन्दा निक्कै बढी सङ्ख्यामा तीर्थयात्रीहरू परिक्रममा सहभागी भएको रामानन्दीय वैष्णव संघका वरिष्ठ उपाध्यक्ष एवं सीताकुण्डका महन्थ रामनरेश दासले जानकारी दिनु भयो ।
परिक्रमा सकेको भोलि पल्ट मात्र मिथिला सहित तराई मधेशका जिल्लाहरूमा होली खेल्ने चलन रहेकाले आज र भोलि पनि होली खेल्ने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्