‘होलीले सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो बनाएको छ’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होली पर्वको माध्यमबाट सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो र सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

होली पर्वका अवसरमा प्राइम टेलिभिजनले आज रामशाहपथमा आयोजना गरेको ‘होली उत्सव–२०७९’ मा बोल्दै उहाँले होली पर्वले भावनात्मक एकता, आपसी सद्भाव र भाइचारा कायम गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयो ।
पर्यटनमन्त्री किरातीले पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशमा पर्यटनको सङ्ख्या बढाउनका लागि मुलुकको संस्कृतिको प्रवर्द्धन गर्न जरुरी भएको बताउनुभयो । प्राकृतिक सम्पदा र संस्कृतिलाई समायोजन गरेर मात्रै पर्यटन क्षेत्रको विकास गर्न सकिने र यसलाई मुलुकको समृद्धिसँग जोड्न सकिने उहाँको भनाइ थियो ।
पर्यटन मन्त्रीले युवाहरूमा होली पर्व अति नै लोकप्रिय हुँदै गइरहेको भन्दै यो पर्वको प्रवर्द्धनमा जुट्न पनि आग्रह गर्नुभयो । उहाँले मादक पदार्थ सेवन नगरी पर्वलाई उल्लासका साथ सभ्य रुपमा मनाउन पनि आग्रह गर्नुभयो ।

होली उत्सवमा ख्यातिप्राप्त गायकहरू प्रमोद खरेल, इन्दिरा जोशी, ज्योति मगर लगायत कलाकारको साङ्गीतिक प्रस्तुतिले उल्लेख्य सङ्ख्यामा उपस्थित दर्शकमाझ रौनक थपेको थियो ।
रङ्गहरूको पर्व मानिने होली नेपाल मात्र नभई विश्वका विभिन्न मुलुकमा समेत मनाइने गरिएको छ । विशेष गरी नेपाल र भारतमा यो पर्व धुमधामका साथ मनाइन्छ ।






प्रतिक्रिया राख्नुहोस्