पूर्वमाओवादीहरूलाई एक ठाउँमा आउन प्रधानमन्त्री एवम् अध्यक्ष प्रचण्डको आग्रह

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व माओवादीहरूलाई एकै ठाउँमा आउन आग्रह गर्नुभएको छ ।
‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशन’ले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले माओवादी आन्दोलनका सबै समूहलाई पार्टी एकतामा आउन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले माओवादी आन्दोलन कमजोर नभए पनि विभिन्न धारमा बाँडिँदा प्रभाव घटेको भन्दै फेरि एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले माओवादीहरू विभिन्न धारामा विभाजित भएको बुझेर नै प्रतिक्रियावादीले भ्रमहरू छर्ने र घेरा हाल्ने षडयन्त्र गरिरहेको बताउनुभयो ।
उहाँले अहिले चर्को बोल्ने समय नभई काम गर्ने समय भएको भन्दै माओवादीविरुद्ध निरन्तर षड्यन्त्र भइरहेकाले आफ्ना तर्फबाट भ्रम चिर्न आग्रह समेत गर्नुभयो ।

जनयुद्धकालीन माओवादी नेताहरू डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, धर्मेन्द्र बाँस्तोलालगायत नेताहरू उपस्थित कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीलाई जिस्क्याउन खोजिएको बताउनुभयो ।
उहाँले तीन वर्ष अघिको सामान्य भनाइलाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउन खोजिएको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री भट्टराईले पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको भन्दै यस विरुद्ध सबै माओवादीहरू एक ठाउँमा उभिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले विचार मिल्नेहरूको एउटै पार्टी बनाउनुपर्ने भन्दै यस्ता मुद्दामा कार्यगत एकता आवश्यकता रहेको समेत बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्