तपाईँ सुन्दै हुनुहुन्छः

त्रिवेणीधाममा पर्यटकबाट उठेको रकमले विद्यालय सञ्चालन

नवलपरासी  । प्रसिद्ध पर्यटकीय स्थल त्रिवेणीधाममा रहेको गुरुकुलमा विद्यार्थीहरूले निःशुल्क पठनपाठन गर्दै आइरहेका छन्। 

त्रिवेणीधामभित्र मुक्तिनाथ वेद विद्याश्रम स्कुल सञ्चालन भई संस्कृत भाषा पठनपाठन हुँदै आएको छ । दैनिकजसो भारतबाट आउने धार्मिक पर्यटकले अवलोकन गर्ने शिशमहलको आम्दानीबाट नै उक्त विद्यालयमा ७० जना विद्यार्थीहरूलाई अध्ययन अध्यापन गराइएको छ । 

त्रिवेणीस्थित गजेन्द्र मोक्ष धाममा शिशमहल र मुक्तिनाथ वेद विद्याश्रम रहेको छ । उनीहरूको आवास र अध्ययन निःशुल्क रहेको छ । संस्कृत समेत पढाइ हुने भएकाले देशका  विभिन्न जिल्लाका विद्यार्थी यस वेद विद्याश्रममा अध्ययनरत छन्। यहाँ भएको शिशमहल हेर्न नेपाली र भारतीयले २४ रुपैयाँको टिकट काट्नुपर्ने व्यवस्था छ ।

यहाँ सार्वजनिक बिदा र चाडपर्वमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गरेको मुक्तिनाथ वेद विद्याश्रमका सञ्चालक स्वामी कृष्ण प्रपन्नाचार्यले बताउनुभयो।

माघे औँसी, चैते दसैँ, माघे सङ्क्रान्ति, माघे औँसीमा एकै दिन दशौँ हजारले शिशमहल अवलोकन गर्ने गर्छन् । गत माघे औँसीमा एकै दिन १० हजारभन्दा बढी दर्शनार्थीले शिशमहल अवलोकन गरेको उहाँले जानकारी दिनुभयो।

भारतको महाराजगन्जबाट आइतबार शिशमहल अवलोकनका लागि आउनुभएका वीरनाथ करलाले त्रिवेणीधामप्रति भारतीयहरूको उत्तिकै श्रद्धा र विश्वास रहेकाले आफू परिवारसहित यहाँ आएको बताउनुभयो । शिशमहलको बारेमा भारतमा समेत चर्चा रहेकाले आफूहरू लोभिएको र वर्षौंदेखिको यहाँ आउने धोको पूरा भएको आम अवलोकन कर्ताहरूको भनाई छ। शान्त वातावरण,नारायणी नदिको किनारमा रहेको यस धाममा जो कोही पनि आनन्दित भएर जाने गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button