भक्तपुर अस्पतालमा न्युरो सेवा शुरु
भक्तपुर । भक्तपुर अस्पतालमा न्युरो (नसा रोग) को उपचार सेवा शुरु भएको छ । प्रदेश स्तरीय सो अस्पतालमा बुधवारदेखि पहिलो पटक नसा रोगको उपचार सेवा बिस्तार गरिएको हो ।

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमका अनुसार, पाटन अस्पतालका नसा रोग विभागका प्रमुख एवं विशेषज्ञ चिकित्सक प्रकाश विष्टले भक्तपुर अस्पतालबाट सेवा दिन थाल्नुभएको हो । नसा रोगको उपचारसँगै न्युरो सर्जरी सेवा समेत शुरु भएको गौतमले जानकारी दिनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थका अनुसार पहिलो चरणमा प्रत्येक महिनाको पहिलो र तेस्रो बुधवार गरेर महिनामा दुई पटक नसा रोगको सेवा दिने र क्रमशः बिरामीको चाप लगायतका पूर्वाधारको निर्माण गर्दै सेवाको समय थप गर्दै लगिने छ ।
डेढ वर्ष अघिसम्म करिब दैनिक चार सय बिरामी उपचारका लागि आउने गरेको अस्पतालमा हाल अस्पतालको सेवा विस्तार र सेवामा गुणस्तर बढेसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या ८ सय नाघेको छ ।
पछिल्लो समय अस्पतालमा कार्डियो सेवा सञ्चालनमा रहेको छ भने १६ बेडको आइसियुमा सधैँ बिरामीको चाप छ । सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा दिन थालेपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको मेडिकल सुपरिटेन्डेन्ट डा. गौतमको भनाई छ ।
पछिल्लो समय प्रसूति लगायतका ठुला सर्जरीहरू अस्पतालमै हुन थालेपछि भर्ना भएर उपचार गराउनेको सङ्ख्या बढेको अस्पताल विकास समितिका अध्यक्ष कायस्थले बताउनुभयो ।

अस्पतालमा सञ्चालनमा रहेर पनि बन्द रहेको अल्जाइमर क्लिनिक पनि पुनः शुरु गरिएको छ । पछिल्लो समय व्यस्त जीवनशैलीका कारण ३० वर्ष माथिकालाई बिर्सिने समस्या बढ्दै गएको भन्दै त्यस्तो सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।
सोही क्रममा अस्पतालले प्रमुख जिल्ला अधिकारी सहितका सबै कार्यालय प्रमुखलाई राखेर मानसिक अवस्था ठिक राख्ने र बिर्सने समस्याको समाधानसम्बन्धी एक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ ।
अस्पतालको पुरानो भवनमा रेक्ट्रो फिटिङको काम द्रुत गतिमा भइरहेको र सम्पन्न भएपछि अस्पतालका सेवा विस्तारमा थप मद्दत पुग्ने अस्पतालले जनाएको छ ।
त्यसैगरी भक्तपुर अस्पतालले हालैमात्र अत्याधुनिक एम्बुलेन्स सेवा समेत शुरु गरेको छ । हाइकेयर एम्बुलेन्स बागमती प्रदेश सरकारले उपलब्ध गराएको हो ।







प्रतिक्रिया राख्नुहोस्