दोलखा महोत्सव सुरु

दोलखा । दोलखामा आर्थिक सङ्कटले गिजोलिएको व्यवसायलाई थोरै भएपनि लयमा फर्काउने र पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्देश्यले दोलखा महोत्सव– २०७९ सुरु गरिएको छ ।
दोलखा चेम्बर अफ कमर्शले आयोजना गरेको महोत्सव आजदेखि सुरु भएर २७ गतेसम्म चल्ने छ ।
महोत्सवमा जिल्लामा उत्पादित विभिन्न सामग्रीसहित मनोरञ्जनका विभिन्न खेल तथा साङ्गीतिक कार्यक्रम सञ्चालन हुने दोलखा चेम्बर अफ कमर्सका उपाध्यक्ष रुद्रजङ्ग बुढाथोकीले बताउनुभयो । महोत्सव उद्घाटनको अवसरमा नास्टको रोर्वटले पानसमा दीप प्रज्ज्वलन गरेको थियो ।

दोलखा महोत्सव– २०७९ को उद्घाटन गर्नुहुँदै उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयता, समावेशी, धर्मनिरपेक्षता र गणतन्त्र सहितको नयाँ प्रकारको लोकतन्त्रलाई अपहरण गर्ने र कमजोर पार्ने काम भइरहेकोले त्यसको रक्षा अहिलेको प्रमुख काम रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठले अहिलेको मुख्य मुद्दा भनेको राजनीतिक परिवर्तन र उपलब्धिलाई माध्यम बनाएर सामाजिक आर्थिक क्षेत्र विस्तार तथा सामाजिक आर्थिक रूपान्तरण गर्नु रहेको बताउनुभयो ।
उहाँले अहिले अर्थतन्त्रको अवस्था उत्साहजनक नरहेको उल्लेख गर्नुहुँदै सबै सङ्कल्पबद्ध भएर अर्थतन्त्रको गति बढाउन लाग्नु अहिलेको आवश्यक रहेको बताउनुभयो ।
सुशासन विना विकासमा फड्को मार्न सकिन्न भन्ने कुरामा सरकार स्पष्ट रहेको उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार माथि प्रभावकारी नियन्त्रण तथा भ्रष्टाचारीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको सुनाउनुभयो ।

दोलखा चेम्बर अफ कमर्शका अध्यक्ष बिष्णु श्रेष्ठको सभापतित्वमा सम्पन्न महोत्सव उद्घाटन कार्यक्रममा पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल, संघीय सांसद गंगा कार्की, सोबिता गौतम, बागमती प्रदेशका पूर्व मन्त्री विशाल खड्का, बागमती प्रदेश सांसद भरत बहादुर केसी, मोनिका श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
महोत्सव अवधिभर वरिष्ठ कलाकार मदनदास, लोक गायक कुमार बस्नेत, प्रमोद खरेल, पशुपति शर्मा, रचना रिमाल, एलिना चौहान, ज्योति मगर लगायतका कलाकारहरूले मनोरञ्जन दिने आयोजकले जनाएका छन् ।
सदरमुकाम चरिकोटस्थित टुँडिखेलमा सुरु भएको महोत्सवमा विभिन्न स्थानीय उत्पादन सहितका सामग्री तथा खाद्य परिकार राख्न झण्डै एक सय वटा स्टल रहेको दोलखा चेम्बर अफ कमर्शका उपाध्यक्ष बुढाथोकीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्