राष्ट्रपतिद्वारा भीमेश्वर मन्दिरमा रुद्री पूजा

दोलखा । राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा रुद्री पूजा गर्नु भएको छ ।
टुकी अवधारणा र अभियानको ४५ वर्ष पुगेको अवसरमा ग्रामीण विकास टुकी संघ दोलखा र सिन्धुपाल्चोकले आयोजना गरेको टुकी प्रदर्शनी कार्यक्रम उद्घाटनको लागि सदरमुकाम चरिकोट आउनु भएको राष्ट्रपति भण्डारी भीमेश्वर मन्दिरमा रुद्री पूजाको लागि ऐतिहासिक दोलखा सहरमा पुग्नु भएको थियो ।
भीमेश्वर मन्दिर परिसरमा पूर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल, बागमती प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलिया, प्रदेश सांसद भरत बहादुर केसी, भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धर, वडा नम्बर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, भीमेश्वर पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठ लगायतले स्वागत गर्नु भएको थियो ।
मुलुकमा कुनै परिवर्तन हुनुअघि सङ्केत स्वरूप भीमेश्वरको मूर्तिमा पसिना आउने जनविश्वास रहँदै आएको छ । मूर्तिमा पसिना आएपछि राष्ट्रप्रमुखबाट क्षमा पूजा गर्ने प्रचलन समेत रहेको छ ।
भीमेश्वर मन्दिरमा रुद्री पूजा सम्पन्न गरी टुकी सङ्घको कार्यक्रममा सहभागी हुनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले टुकी अवधारणा र अभियान सम्बन्धी वृत्तचित्र अवलोकन तथा टुकी अभियन्ताहरूको अनुभव सुन्नु भएको थियो । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ग्रामीण विकासको टुकी अवधारणा अभ्यासको क्रममा प्राप्त अनुभव र सिकाइहरू नेपालको अन्य क्षेत्रको विकासको लागि समेत उपयोगी हुन सक्दछ भन्ने आफूलाई लागेको बताउनुभयो ।

कार्यक्रममा टुकीका अभियन्ता डा कृष्ण कुमार पाँडेले माटोलाई साथ दियौ भने माटोले पनि साथ दिन्छ भन्ने टुकी सदस्यहरूको अवधारण ४५ वर्षको अवधिमा पूर्ण रुपमा पुष्टि भएको उल्लेख गर्नुहुँदै टुकी संघ कुनै गैर सरकारी संस्था नभएकोले विकासको लागि टुकी अवधारणालाई नीतिगत रुपमा सम्बोधन हुनुपर्ने बताउनु भएको थियो ।
दोलखा मेलुङ गाउँपालिका वडा नम्बर– १ पवटीका टुकी रघुनाथ उप्रेतीले १४ वर्षको उमेरमा टुकी अभियानमा लागेर रोजगार मूलक तालिममा सहभागी भई बुबाले सुरु गर्नु भएको फलफूल खेतीलाई निरन्तरता दिएको र अहिले सोही व्यवसायबाट वार्षिक दुई लाख भन्दा बढी आम्दानी गर्दै आएको बताउनु भएको थियो ।
सिन्धुपाल्चोकको टुकी सविना लामाले ग्रामीण क्षेत्रमा सामूहिक कृषि व्यवसाय मार्फत जीवन स्तर सुधार कार्यमा टुकी सङ्घको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको थियो । कार्यक्रममा टुकी संघ दोलखाका अध्यक्ष मकरध्वज पाख्रिन, टुकी संघ सिन्धुपाल्चोकका अध्यक्ष राजेन्द्र कुमार भण्डारी लगायतले टुकी अभियानको क्रममा आर्जन गरेको अनुभव सुनाउनु भएको थियो ।
२०३४ साल असोजमा स्थापना भएको टुकी सङ्घमा हाल पाँच सय भन्दा बढी टुकी सदस्य रहेको जनाइएको छ । टुकी संघ दोलखा र सिन्धुपाल्चोकले जिल्लाको ग्रामीण क्षेत्रहरूमा टुकी सदस्यहरूको प्रत्यक्ष सहभागितामा कृषि, शिक्षा लगायतको क्षेत्रमा काम गर्दै आएको छ । ३७ बर्ष अघि राष्ट्रप्रमुखको तर्फबाट तत्कालीन राजा वीरेन्द्र शाहले टुकी सदस्यहरूसँग भेट गर्नुभएको टुकी अभियन्ता डा. कृष्ण कुमार पाँडेले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्