‘समृद्धिका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य’
नेपालगन्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले देशको आर्थिक विकास र समृद्धिका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य भएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल बाँकेले आज नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री किराँतीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले विभिन्न योजना र कार्यक्रम तयार पारिरहेको बताउनुभयो ।
उहाँले जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न वायु सेवा निगमलाई निर्देशन दिइसकेले सय दिनभित्र त्यसको परिमाण देखिने बताउनुभयो । काम नगर्ने कर्मचारी र वायु सेवा कम्पनीलाई सय दिनभित्र सुध्रने समय दिएको उल्लेख गर्नुभयो ।
हवाई यातायातको सुरक्षाको सवाल मानव जीवनसँगै पर्यटनको विकाससँग पनि जोडिएकोले सरकार यस विषयमा गम्भीर रहेको मन्त्रीको किराँतीको भनाई छ । उहाँले हवाई सुरक्षाका लागि आवश्यक प्राविधिक जाँचदेखि उपकरणको जाँच र फेरबदलसम्मका सम्पूर्ण विषयमा कडाइ गर्न सम्बन्धित सबैलाई निर्देशन जारी गरिसकिएको जानकारी दिनुभयो ।

यसैबीच मन्त्री किराँतीले आजै नेपालगन्ज विमानस्थलको निरीक्षण तथा अनुगमन गरी स्तरोन्नतिको कामको प्रगतिबारे जानकारी लिनुभएको छ । उहाँले निर्माणाधीन टर्मिनल भवनको निरीक्षण गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्