तपाईँ सुन्दै हुनुहुन्छः

‘सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई कसैले समाप्त गर्न सक्दैन’

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई कसैले समाप्त गर्न नसक्ने बताउनुभएको छ ।

मधेश प्रज्ञा प्रतिष्ठानको कार्यालयको जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष यादवले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विकल्प अरू केही हुन नसक्ने बताउनुभयो ।

उहाँले सङ्घीयतालाई मजबुत बनाउनका लागि संघीय निजामती ऐन शीघ्र आउनु पर्ने र प्रदेश प्रहरीको समायोजन हुनुपर्ने बताउँदै अब बन्ने सरकारको भविष्य यसैमा निर्धारण हुने दाबी गर्नुभयो ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेश सरकारले विगतमा खोलेका धेरै विश्वविद्यालय प्रतिष्ठानका पदाधिकारीहरू काम भन्दा बढी सुविधामा लागेकाले अपेक्षित परिणाम प्राप्त हुन नसकेको बताउनुभयो ।

मधेश प्रदेशका सामाजिक विकासमन्त्री सुरिता कुमारी साहले भाषा संस्कृतिको विकासका लागि मधेश प्रज्ञा प्रतिष्ठानले काम गर्ने विश्वास व्यक्त गर्दै मधेश आन्दोलनको कारणले नै प्रतिष्ठान स्थापना भएको बताउनुभयो ।

मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले भाषा, साहित्य र संस्कृति समाप्त भयो भने सबै थोक समाप्त हुने चर्चा गर्दै मधेश प्रदेशको भाषा, साहित्य तथा संस्कृतिको विकासमा प्रतिष्ठानले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता विरेन्द्र कुमार ठाकुरले मधेश प्रज्ञा प्रतिष्ठानले यस क्षेत्रको भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा संवर्द्धनमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले मधेश प्रदेशमा बोलिने ८९ मातृभाषाको संरक्षण तथा विकासका लागि काम गर्ने बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराई, प्रतिष्ठानका सदस्य द्वय गोपाल ठाकुर र दिनेश कुमार यादवले मधेश प्रज्ञा प्रतिष्ठानले मधेश तथा मधेशमा बोलिने भाषा, साहित्य संस्कृतिको विकासका साथै अनुसन्धानका क्षेत्रमा विशेष रुपमा काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button