तपाईँ सुन्दै हुनुहुन्छः

कुकुर मारेको विरोधमा पशु अधिकारकर्मीद्वारा प्रदर्शन

वीरगंज । वीरगंजमा भुस्याहा कुकुर नियन्त्रण गर्नु पर्नेमा निर्मम रुपमा हत्या गरिएको भन्दै आज पशु अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । 

सुमार्ग बिन्दु आमा फाउन्डेशनको अगुवाइमा पशु अधिकारकर्मीहरूले विरोध र्‍याली प्रदर्शन गरेका थिए । वीरगंजको घण्टाघर चोकबाट निस्किएको विरोध र्‍यालीले नगर परिक्रमा गरेको थियो । पशु अधिकारकर्मीहरूले अज्ञात समूहले मारेका कुकुरहरूको तस्बिरमा फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण पनि गरेका थिए । 

विरोध र्‍यालीमा सहभागी पशु अधिकारकर्मीहरूले कुकुर मार्ने अभियान बन्द गर, कुकुर हाम्रो संरक्षक हो, निरीह कुकुरलाई मार्न पाइँदैन, निरीह कुकुरलाई मार्नु कुनै पुरुषार्थ होइन, निरीह कुकरलाई मार्नु दण्डनीय अपराध हो जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

विगत केही समय देखि वीरगंजमा कुकुरहरू मार्ने अभियान चलाइएपछि त्यसको विरोधमा वीरगंज महानगरपालिका लगायत सरोकारवाला निकायको ध्यानाकर्षण गराउन शान्तिपूर्ण विरोध र्‍यालीको आयोजना गरिएको सुमार्ग बिन्दु आमा फाउन्डेसनकी अध्यक्ष प्रतिभा कोइरालाले बताउनु भयो । 

सडकका कुकुरहरू मार्ने अभियान वीरगंज महानगरपालिकाले चलाएको आशङ्का गरिए पनि यसको पुष्टि भने भई नसकेको कोइरालाले बताउनु भयो । वीरगंज महानगरमा क्षेत्रमा अहिले १० हजार भन्दा बढी भुस्याहा कुकुर रहेका छन् ।  

भुस्याहा कुकुर आतङ्कको कारण  साँझ बिहान वीरगंजका सडकमा हिँडडुल गर्न समेत गाह्रो भएको छ । वीरगंज महानगरपालिकालाई चौतर्फी रुपमा भुस्याहा कुकुर नियन्त्रण गर्न दबाब परेको छ । 

महानगरपालिकाले भुस्याहा कुकुर नियन्त्रणका लागि कुकुरको बन्ध्याकरण अर्थात् परिवार नियोजन गर्ने रणनीति अगाडी बढाउन पशु चिकित्सकहरूसँग परामर्श समेत गरेको छ । 

भुस्याहा कुकुरबाट आजित भएका नगरवासीले नै कुकुरलाई विष हालेर मारेको हुन सक्ने नगरपालिका श्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button