तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रसेवकलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ : मन्त्री मोदी

ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री मोदीले यस्तो बताउनुभएको हो ।

राष्ट्रसेवक कर्मचारीलाई सबल, सक्षम र दक्ष बनाउनका लागि स्टाफ कलेजको महत्वपूर्ण भूमिका रहने बताउँदै मन्त्री मोदीले भने, “राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको रुपमा विकास गर्नुपर्छ, बेलायत, अमेरिका, भारत लगायतका देशका कर्मचारीसँग प्रतिस्पर्धी बनाउने गरी उनीहरूको क्षमता विकास गर्नुपर्छ, उनीहरुलाई कसरी सबल, सक्षम र दक्ष बनाउने भन्ने मुख्य जिम्मेवारी स्टाफ कलेजको हो, देश र जनतालाई सर्वोपरि ठानेर काम गर्ने प्रवृत्तिको विकास र क्षमता  निर्माणतिर तपाईँहरूको ध्यान जाओस् ।”

स्टाफ कलेजलाई नमूनाको रुपमा विकास गर्न आफूले खेल्नुपर्ने भूमिकामा कमी आउन नदिने मन्त्री मोदीको भनाई थियो । “स्टाफ कलेजलाई नमूनाको रुपमा विकास गर्न मैले के भूमिका खेल्नुपर्ने हो खेल्न तयार छु” मन्त्री मोदीले भन्नुभयो ।  

सीमित स्रोत र साधनबाट काम गर्नुपर्ने बाध्यतालाई आफूले बुझेको बताउँदै मन्त्री मोदीले राष्ट्रसेवक कर्मचारीहरूलाई व्यावहारिक ज्ञान पनि दिन आवश्यक रहेको बताउनुभयो । छिटो पैसा कमाउने धन्दामा लाग्ने प्रवृत्तिको विकास भइरहेकाले त्यसलाई रोक्नेतर्फ प्रशिक्षण प्रतिष्ठानले ध्यान दिनुपर्ने मन्त्री मोदीको भनाई थियो ।

पदमा रहुन्जेलसम्म वर्तमानप्रति उत्तरदायी रहेर काम गर्न निर्देशन दिँदै मन्त्री मोदीले भन्नुभयो, “विज्ञता भएकाहरूले राजनीति गर्ने होइन, राजनीति गर्ने राजनीतिक व्यक्तिले हो ।” 

आफूहरूले उन्नत र विशिष्ट प्रकृतिको काम गर्न नसके अरू कसैले गर्न नसक्ने उहाँको भनाई थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि उन्नत कामका लागि युवाहरूलाई मन्त्रिपरिषद्मा सहभागी गराएको भन्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यू, देश र जनताका पक्षमा उदाहरणीय काम गर्ने पक्षमा हुनुहुन्छ, उहाँले केही न केही गर्ने सोचले नै युवाहरूलाई मन्त्रिपरिषद्मा युवाहरूलाई सहभागी गराउनुभएको छ, हामी केही न केही गर्छौ, हामीले गर्न नसके अरूले गर्न सक्ने अवस्था अब आउनेवाला छैन ।”

मन्त्री मोदीले स्टाफ कलेजमा जारी नयाँ शाखा अधिकृतहरूको प्रशिक्षण कक्षाको अवलोकन पनि गर्नुभएको थियो ।

छलफलका क्रममा उप कार्यकारी निर्देशक विष्णुप्रसाद लम्सालले स्टाफ कलेजका सन्दर्भमा ब्रिफिङ गर्नुभएको थियो । कार्यकारी निर्देशक राजन खनालले मन्त्री मोदीको निर्देशनलाई अक्षरशः पालना गरेर अगाडि बढ्ने बताउनुभयो । 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन अनुसार प्रशिक्षण प्रतिष्ठान २०३९ सालमा स्थापना भएको हो । । ७२ रोपनी क्षेत्रफलमा बनेको प्रतिष्ठानमा १२० जना प्रशिक्षार्थीलाई राख्न सक्ने आवासीय भवन समेत छ । 

निरीक्षणपछिको छलफलमा विभिन्न विभागका प्रमुखहरूको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button