तपाईँ सुन्दै हुनुहुन्छः

गाउँघरमा मार्क्सवादी शिक्षा पढाउने नेकपा एसका नेताहरूको भनाई  

बैतडी । नेकपा (एकिकृत समाजवादी) पार्टी सङ्गठन विस्तार अभियानलाई तीव्रता दिने अभियान थाल्ने भएको छ । 

मङ्गलवार सम्पन्न जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । सङ्गठन विस्तार अभियान अन्तरगत हरेक स्थानीय तहमा पार्टीको केन्द्रीय कमिटी सदस्यले अनिवार्य पुग्ने कार्यक्रम रहेको पाटी जिल्ला अध्यक्ष महादेव भट्टले बताउनुभयो । 

उहाँले भन्नुभयो,‘अहिले हाम्रो पार्टीको आकार सानो भएपनि केही समयमै ठुलो आकारको पार्टी भएको देख्न पाइनेछ । पार्टी स्थापना भएको १६महिनामै राम्रो प्रगति देखिएको छ ।’

पार्टीका पोलिटब्युरो सदस्य राम कुमार ज्ञवालीले पार्टी अहिले वैचारिक एकताको अभियानमा जुटेको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीहरू नेकपा एमालेमा नेतृत्वबाटै वैचारिक विचलन देखिन थालेकाले विचारको विद्रोह गरेका हौँ । अहिले पनि गाउँघरमा गएर मार्क्सवाद को ज्ञान प्रदान गर्नु जरुरी छ । हामी त्यो अभियानमा लाग्दछौँ ।’

पार्टीका अर्का पोलिटब्युरो सदस्य एवं बैतडी जिल्ला इन्चार्ज परमानन्द भट्टले विकास निर्माणका क्रियाकलापहरूमा आफ्नो पार्टीको चासो रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘अहिले सोचे अनुरूपको विकास बजेट खर्च हुन सकेको छैन । गतबर्ष यस महिना सम्म ४५ प्रतिशत रकम खर्च भैसकेको थियो तर अहिले १५ प्रतिशत रकम समेत खर्च भएको छैन । अधिकांश ठुला आयोजनाहरू अलपत्र छन् । हरेक कार्यालयमा पुगेको विकास निर्माणको प्रगति विवरण माग्नुपर्ने बेला आएको छ । हाम्रो पार्टी त्यो अभियानमा लाग्छ ।’

पार्टी केन्द्रीय कमिटी सदस्य मायाँ भट्टले गाउँगाउँमा गएर पार्टीको कार्यदिशा सिद्धान्त र नीतिहरूको पाठ सिकाउन जरुरत रहेको बताउनुभयो । विगतमा पनि आफूहरू गाउँ गाउँ पुगेर कम्युनिष्ट विचारको पाठ सिकाएको स्मरण गर्दै उहाँले अहिलेको नयाँ पुस्तासँग विचारको बहस गरी पार्टीको सुदृढीकरण अभियान सञ्चालन गर्ने बताउनुभयो । 

पार्टीका अर्का केन्द्रीय कमिटी सदस्य नरेन्द्र विष्टले आफ्नो पार्टीले आजको मार्क्सवादको परिकल्पना गरेकाले उक्त शिक्षा सर्वसाधारण नागरिकलाई दिन आवश्यक रहेको बताउनुभयो । विगतमा मार्क्सवादी विद्यालय समेत सञ्चालन गर्ने परिकल्पना अनुसार आफ्नो पार्टीको अग्रज नेताहरू लागेको भन्दै उहाँले सोही अभ्यासको थालनी आवश्यक रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button