वातावरण अभियन्ता महतो हत्याका अभियुक्तलाई २५ वर्षको कैद सजाय
जनकपुरधाम । धनुषाका वातावरण अभियन्ता दिलीप महतोको हत्याको अभियोग लागेका तीन जनालाई धनुषा जिल्ला अदालतले साँढे १२ देखि २५ वर्षसम्मको कैद सजाय गर्ने आदेश दिएको छ ।
धनुषा जिल्ला अदालतका न्यायाधीश चित्र बहादुर गुरुङको एकल इजलासले हत्याको अभियोगमा पक्राउ परेका मिथिला नगरपालिका ५ मा क्रसर उद्योगी विपिन महतोलाई २५ वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने आदेश दिएको हो ।

टिपरले च्यापेर हत्या गरेको भन्दै चालक मिथिला नगरपालिका ९ का मुनीन्द्र महतोलाई पनि २५ वर्ष कैद सजायका साथै ५ लाख जरिवानाको आदेश दिइएको छ ।
लोडरका चालक बर्दिबास नगरपालिका २ का जितेन्द्र कुमार महतोलाई हत्यामा मतियारको भूमिका खेलेको भन्दै १२ वर्ष ६ महिना कैद र २ लाख ५० हजार क्षतिपूर्ति भराउने आदेश भएको धनुषा जिल्ला अदालतले जनाएको छ ।
मिथिला नगरपालिका ५ श्रीपुरका पर्यावरण अभियन्ता वर्ष २४ का दिलीप महतोलाई २०७६ साल पुस २५ गते औरही खोलामा टिपरले च्यापेर हत्या गरेपछि लामो समयसम्म परिवार तथा स्थानीयवासी र वातावरण अभियन्ताहरूले आन्दोलन गरेपछि धनुषा प्रहरीले ७ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
सोही अभियोगमा पक्राउ परेका अन्य ४ जनाको हत्यामा संलग्नता नदेखिएको भन्दै धनुषा जिल्ला अदालतले सफाइ दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्