प्रचारप्रसार नहुँदा ओझेलमा गल्याङको सुनपोखरी

स्याङ्जा । गल्याङ नगरपालिका वडा नं. ७ मा रहेको पर्यटकीय सुनपोखरी डाँडा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
झट्ट हेर्दा पाल्पाको श्रीनगरको डाँडा जस्तै देखिने सुनपोखरीको आफ्नै पुरातात्त्विक महत्त्व छ । त्यहाँबाट देखिने धौलागिरि, माछापुच्छ्रे र अन्नपूर्णका हिमशृङ्खलाहरूले सबैको मन लोभ्याउँछ । सल्लाका फेदमा बनाइएको बस्ने ठाउँ, संरक्षण गरेर राखिएको पुरानो चौतारी, मन्दिर, पोखरी, भ्युटावर तथा ओढारमा रहेको गणेश आकृतिको चट्टान त्यहाँको आर्कषण हो । त्यहाँबाट कालीगण्डकी किनार, स्याङ्जाका विभिन्न भेगहरू, पाल्पाका भेगहरू, पर्वतका भेगहरू समेत नियाल्दा जो कोहीलाई पनि मन लोभ्याउँछ ।

कुनै बेला नाङ्गो चरनको रुपमा रहेको सुनपोखरी डाँडा अहिले हरियाली र मनामोहक बनेको छ । सुनपोखरी डाँडाका संरक्षण संयोजक दानबहादुर थापाका अनुसार २०४५ साल अगाडि त्यो ठाउँ गौचरन थियो । त्यसपछि २०५० सालसम्म वृक्षारोपण गरेर हरियाली बनाइएको डाँडा बिस्तारै पिकनिक स्पटको रुपमा परिणत भयो ।
त्यहाँ बनेका भौतिक संरचनाहरू केहीमा स्थानीयले श्रमदान गरेका छन् भने तत्कालीन वन तथा भू–संरक्षण कार्यालयले पनि सहयोग गरेको थियो । संघीय संचारना प्रणाली लागु भएपछि गण्डकी प्रदेशका निवर्तमान सांसद मोहन रेग्मीको पहलमा १० लाख बजेट विनियोजन भएपछि उक्त डाँडामा व्यवस्थित पोखरी, प्लाष्टर गरिएका बाटो, सल्लाको फेदमा प्लाष्टर गराएर बनाइएको बस्ने ठाउँहरूलगायतका संचरनाहरु निर्माण भएका छन् ।

सम्भावनायुक्त ठाउँ सुनपोखरीको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको स्थानीय युवा उमेश दर्लामी बताउनुहुन्छ । पछिल्लो समय गाउँका युवाहरू विदेश पलायन हुने तथा सुखभोगका लागी बजारतिर स्थानान्तरण हुँदा गाउँका पर्यटकीय ठाउँहरूलाई प्रचारमा ल्याउन नसकिएको दर्लामी बताउनुहुन्छ । उक्त डाँडामा रहेको मन्दिर तथा गाउँमा रहेका अन्य मन्दिरहरू गरी ७ वटा मन्दिरमा चण्डी पूर्णिमा दिन एकै पटक पूजा गरिने ऐतिहासिक महत्त्व रहेको दर्लामीको भनाई छ ।
स्थानीय मुखिया प्रेमनारायण थापाको छोरीहरू तथा परिवारले मनरुपा थापाको स्मृतिमा निर्मित भ्यु टावरले उक्त ठाउँलाई आकर्षित बनाएको छ । हरियाली उद्यानको रुपमा विकास गर्न खोजिए पनि सफल नभएको संरक्षक थापाको बताउनुहुन्छ । स्थानीय वृद्ध वृद्धाहरूका अनुसार पहिले त्यहाँ सुँगुर तथा बँदेलहरू पाईन्थे र उक्त सुँगुर तथा बँदेलहरूले उधुनेर खाल्टो बनेको र उक्त खाल्टोमा पानी जम्मा भई पोखरीमा परिणत भएको र सुनपोखरी नामाकरण भएको मानिन्छ । सुनपोखरी डाँडामा विभिन्न आमा समूह, क्लबहरू, विद्यालयहरू पिकनिकका लागी जाने गरेपनि उचित व्यवस्थापन भने हुन सकेको छैन ।

पिकनिकका लागी जानेहरूलाई पिउने पानी, दाउरा, भाँडाकुँडा, बिजुलीको व्यवस्थापन गरिएपनि दिगो व्यवस्थापन हुन सकेको छैन । छेउमै रहेको ओढारमा गणेश आकृतिको चट्टान मा स्थानीयले पूजा अर्चना समेत गरे तर ओडार सम्म जाने बाटोको उचित व्यवस्थापन हुन नसकेको संयोजक थापा बताउनुहुन्छ । मगर बाहुल्यता रहेको उक्त ठाउँमा मगर संस्कृतिको समेत जर्गेना गर्दै उद्यानको रुपमा विकास गर्न बजेट अभाव भएको उहाँको भनाई छ । सुनपोखरीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिए स्थानीयको आयआर्जनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्