तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा गुन्द्रुकको स्तरीकरण (ब्रान्डिङ) गर्न शुरु

इलाम  । इलामको रोङ गाउँपालिकाले साग अमिल्याएर बनाइने तरकारीजन्य परिकार विदेशमा समेत ‘विशेष नेपाली परिकार’ को पहिचान पाएको गुन्द्रुकको ब्रान्डिङ (स्तरीकरण) गर्न शुरु गरेको छ। 

रोङ गाउँपालिकाको पहिचानको रुपमा स्थापित गर्ने गरी गाउँघरमा उत्पादन भएको रायोको सागबाट व्यावसायिक रुपमा गुन्द्रुकको ब्रान्डिङ (स्तरीकरण) शुरु गरेको हो ।

गाउँपालिकाले ६ वटै वडामा किसानले उत्पादन गरेको सागलाई कृषि सहकारीमार्फत सङ्कलन गरी उच्च स्तरीय प्रविधिबाट प्रशोधन र प्याकेजिङ गरी देशका विभिन्न स्थानमा बिक्री गरिने गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनुभयो । 

गुन्द्रुक तयार गरि बजारमा बिक्रीबाट आम्दानी गर्ने योजनाका साथ गाउँपालिकाले काम शुरु गरेको अध्यक्ष स्याङ्बो बताउनुभयो । उहाँका अनुसार उत्पादन भएको गुन्द्रुकलाई गाउँपालिकाले ब्रान्डिङ गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ ।

स्थानीय देवान छाप साना किसान कृषि सहकारीको साना किसान कृषि प्रशोधन उद्योग मार्फत गुन्द्रुकको उत्पादन, ब्रान्डिङ, प्याकेजिङ एवम् बजारीकरण गरिने छ । 

रोङमा उत्पादन भएको गुन्द्रुक अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरीको हुने खाद्य प्राविधिक दीक्षा भट्टराईले जानकारी दिनुभयो । उहाँको अनुसार यस वर्ष एक हजार किलो गुन्द्रुक उत्पादन गर्ने लक्ष्य गाउँपालिकाको रहेको छ । चालू आर्थिक वर्षमा नै सहकारीको जग्गामा उद्योग स्थापना गर्ने तयारी भएको छ । अहिलेसम्म ब्रान्डको नाम तयार नभए पनि गुन्द्रुक सिन्कीको प्याकेट, डिजाइन र ब्रान्ड नाम राखेर बजारमा ल्याइने अध्यक्ष स्याङबोले जानकारी दिनु भयो । उहाँले भन्नुभयो “राष्ट्रिय सम्मान बोकेको गुन्द्रुकलाई प्रवद्र्धन गर्नका लागि अगाडी केही थपेर बजारमा ल्याउने तयारी हो, तर, के थप्ने भन्ने निर्णय भैसकेको छैन।”

यस अघिका स्थानीय सरकारले गुन्द्रुकको उत्पादन र बजारीकरणमा चासो दिएको थिएन । सरकारी निकायको ध्यान नपुग्दा किसानले उत्पादन गरेको गुन्द्रुक त्यसै खेर गइरहेको अवस्थामा रोङ गाउँपालिकाले स्थानीयको जीवन स्तरमा सुधार ल्याउनका लागि गुन्द्रुकको ब्रान्डिङ गरेको उपाध्यक्ष विष्णुमाया भुजेलले बताउनुभयो । 

उपाध्यक्ष भुजेलले भन्नुभयो, “भयो‘गुन्द्रुकको जति माग छ , गुणस्तरीय गुन्द्रुकको माग अनुसार बजार धान्नै धौधौ छ , उत्पादनमा जोड दिनुपर्छ ।” उहाँले गुन्द्रुकको उत्पादन र बिक्री वितरणले रोङको मात्र नभई देशकै अर्थतन्त्रमा प्रभाव पार्ने बताउनुभयो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले व्यवसायी रुपमा गुन्द्रुकको उत्पादन र बजारीकरणले पालिकामा आर्थिक समृद्धि र रोजगारीको अवसर बढ्ने बताउनुभयो । उहाँले पालिकाले रणनीतिक रुपमा योजना बनाएर गुन्द्रुकको बान्डिङ शुरु गरेको बताउनुभयो ।

“प्रत्येक किसानले उत्पादन गरेको सागलाई सङ्कलन गरि प्रशोधनबाट आवश्यक लेबलिङ गर्ने गरी कार्यक्रम सुरु गरिएको छ”, प्रमुख प्रशासकीय अधिकृत दाहालले भन्नुभयो ।  

उत्पादित ताजा साग बजारमा बिक्री गर्ने योजना पनि गाउँपालिकाको छ । पालिकाले किसानलाई गुन्द्रुकमा प्रति किलोग्राम ८० रुपियाँका दरले अनुदान दिने निर्णय गरिसकेको छ ।

गाउँपालिकाले गुन्द्रुक–सिन्कीको प्रवद्र्धनका लागि आवश्यक प्रक्रिया अघि बढाउँदै पालिकाका अगुवा किसानलाई प्रदेश, पालिका र स्थानीय सहकारीको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको छ । पालिकाले स्टलमार्फत उत्पादित बस्तु बिक्री गर्ने योजना बनाएको छ । पालिकाले चालु आर्थिक वर्ष भित्रमै खाद्य अनुमति पत्र लिने लक्ष्य राखेको छ ।

गाउँपालिकाले सुरुवाती तीन महिनाका लागि गुन्द्रुक–सिन्की लेबलिङका लागि खाद्य प्राविधिक समेत नियुक्त गरिसकेको छ । तत्काललाई देवान छाप साना किसान कृषि सहकारीले प्रशोधनको काम गर्ने भएको छ । जसका लागि गाउँपालिकालाई स्विस सरकारले ३४ लाख ४५ हजार रुपियाँ उपलब्ध गराउने भएको छ । त्यसमा थप रकम मध्ये पालिकाले १७ लाख ६० हजार र सहकारीले १५ लाख ८० हजार रुपियाँ लगानी गर्नेछन् ।

अध्यक्ष स्याङबोले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाले गुन्द्रुक प्रवद्र्धनका लागि ब्रान्डिङ र प्याकेजिङ गर्न ३ लाख, बीउका लागि २ लाख, प्रतिकिलो अनुदानका लागि ३ लाख र गुन्द्रुक उत्पादनमा प्रतिस्पर्धा गरी उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्न २ लाख रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो । पालिकाले बजारीकरणको काम समेत गर्ने भएको छ । जसका लागि स्वदेशी र विदेशी संस्थासँग सहकार्य गर्ने काम सुरु भएको पालिका अध्यक्षले बताउनुभयो ।

उहाँको अनुसार गुन्द्रुक उत्पादनपछि पालिकाको आर्थिक स्रोतमा टेवा पुग्नुका साथै रोजगारी सिर्जना हुने र कच्चा पदार्थ, जमिन र श्रम शक्ति पर्याप्त रहेको’ ६ वडामा प्रत्यक्ष ४ सय र अप्रत्यक्ष करिब ७ सय बढीले रोजगारी पाउने उहाँको आँकलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button