राष्ट्रपति भण्डारीद्वारा बागलुङ कालिका मन्दिरमा पुजाअर्चना

बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवतीको मन्दिरमा विशेष पुजाअर्चना गर्नुभएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान बागलुङ आउनुभएको राष्ट्रपति भण्डारीले बुधबार बिहान १० बजे राष्ट्रपति भण्डारीले कालिका भगवती मन्दिरमा विशेष पुजाअर्चना गर्नुभएको हो ।
उहाँ बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको विशेष निमन्त्रणामा कालिका मन्दिरको दर्शन र पुजाअर्चनाका लागि बागलुङ आउनुभएको गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो
राष्ट्रपति भण्डारीलाई कालिका भगवती गुठी, सांसद, जनप्रतिनिधि लगायत सर्वसाधारणले स्वागत गरे । राष्ट्रपति भण्डारीले कालिकाको विशेष पुजाअर्चनापछि मन्दिरका मुल पुजारी जयबहादुर खड्काको हातबाट प्रसाद ग्रहण गर्नुभयो ।
बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले उहाँलाई कृतज्ञता पत्र र विशेष मायाको चिनो दिएर बिदाई गरेको थियो । अध्यक्ष कुमार खड्काले कालिका मन्दिरको प्रचार प्रसार र बागलुङको विकासका लागि राष्ट्रपतिको भ्रमण फलदायी भएको ब्यहोरासहितको कृतज्ञता पत्र प्रदान गर्नुभएको हो । पहिलो महिला राष्ट्रपतिद्वारा कालिका मन्दिर दर्शन पश्चात् कालिका मन्दिरको महिमा र महत्त्व झनै चुलिएर जाने गुठीले विश्वास गरेको छ ।
बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रसिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् । हिन्दू धर्ममा कालिका भगवतीको महत्पूर्ण स्थान छ । राष्ट्रपतिको भ्रमणपछि दर्शनार्थीको सङ्ख्या थप बढ्ने विश्वास लिइएको छ । शक्ति प्राप्तिका लागि कालिका भगवतीको पूजाआराधना गर्ने विश्वास गरिन्छ ।







प्रतिक्रिया राख्नुहोस्