सुदूरपश्चिम सरकार पाँच वर्ष टिक्छ : मुख्यमन्त्री शाह
धनगढी ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँच बर्ष निरन्तर चल्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा आज आयोजित पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेश सरकार पाँच बर्ष चल्छ, सुदूरपश्चिम मध्यावधिमा जाँदैन, भन्नुभयो ।
मुख्यमन्त्री शाहले प्रदेश सभामा चाडै विश्वासको मत लिने तयारी रहेको बताउनुभयो । सञ्चारकर्मीको जिज्ञासामा उहाँले सरकारले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताउनुभयो । मुख्यमन्त्री शाहले सबै दलसँग वार्ता, संवाद, छलफल सकारात्मक ढङ्गले अघि बढिरहेको बताउनुभयो । सरकारले भ्रष्ट्राचार नियन्त्रणलाई प्राथमिकता दिएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले मन्त्रिपरिषदकाे पहिलो बैठकबाट भ्रष्ट्राचार नियन्त्रणका लागि प्रादेशिक कार्य तर्जुमा समिति गठन गरि काम अघि बढिरहेको बताउनुभयो । उहाँले प्रदेशको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी सृजनामा सरकार केन्द्रित रहेको बताउनुभयो ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम उहाँ माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । उहाँले फागुन २६ गते भित्र प्रदेश सभाबाट विश्वासको मत लिई सक्नु पर्ने हुन्छ । कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा र आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्