तपाईँ सुन्दै हुनुहुन्छः

बागमतीका ८ लाख भेडा बाख्रालाई पीपीआर खोप

मकवानपुर।बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश भित्रका ८ लाख ३३ हजार १ सय ८९ भेडाबाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाएको छ ।

पीपीआर रोगविरुद्धको सप्ताहव्यापी खोप अभियानअन्तर्गत हालसम्म मन्त्रालयले प्रदेशका ४ हजार २६४ वटा भेडा र ८ लाख २८ हजार ९२५ वटा बाख्रालाई गरि जम्मा ८ लाख ३३ हजार १८९ वटा भेडाबाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिनुभयो ।

गत फागुन १ गतेदेखि सुरु भएको सप्ताहव्यापी खोप अभियानअन्तर्गत प्रदेशका १३ जिल्लाका किसानले पालेका भेडाबाख्रालाई पीपीआर रोगविरुद्ध खोप लगाइएको अधिकारीले जानकारी दिनुभयो । खोप कार्यक्रम ४२५ जना भ्याक्सिनेटर र १ हजार २४४ खोप केन्द्रबाट सञ्चालन भएको उहाँले बताउनुभयो । अभियान बाहेक अन्य समयमा समेत मन्त्रालयले भेडाबाख्रालाई उक्त खोप लगाउँदै आएको छ ।

अभियान अन्तर्गत बागमती प्रदेशका २६ लाख १३ हजार २३२ वटा भेडा बाख्रालाई पीपीआर रोगविरुद्ध खोप लगाउने लक्ष्य रहेको थियो । पीपीआर भेडा बाख्रामा विषाणुबाट लाग्ने सङ्क्रामक रोग हो । यसलाई भेडाबाख्राको हैजा पनि भनिन्छ । नेपालमा पीपीआर रोगका कारण बर्सेनि भेडाबाख्रा मरेर कृषकहरूले ठूलो आर्थिक हानि बेहोर्नुपरेको छ । यस्तो अवस्था आउन नदिनका लागि खोप अभियान सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । अफ्रिकी देशबाट सुरु भएको यो रोग नेपालमा पनि सबैजसो जिल्लामा देखापरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button