तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज कारागारका १० जना कैदीबन्दीको सजाय मिनाहा

वीरगंज । ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज वीरगंज कारागारमा रहेका १० जना पुरुष कैदीबन्दिहरुको सजाय मिनाहा भएको छ । 

नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रजातन्त्र दिवसको अवसर पारी आज राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ५ सय १ जना कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकोमा वीरगंज कारागारका १० जना कैदीको सजाय मिनाहा भएको वीरगंज कारागारका सूचना अधिकारी नवराज बर्तौलाले बताउनुभयो । 

वीरगन्ज कारागारबाट बाँकी सजाय मिनाहा भएर आज रिहा भएका कैदीबन्दीहरुमा कर्तव्य ज्यान मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका ६ जना, चोरी मुद्दाका १ जना, लापरबाहीबाट मानिसको ज्यान मुद्दा १ जना, हातहतियार खरखजना मुद्दा १ जना गरी १० जनालाई सजाय माफी भई आज जेल मुक्त भएको सूचना अधिकारी बर्तौलाले जानकारी दिनुभयो । 

कारागार मुक्त हुनेमा वीरगंजका गणेश साह तेली, पर्सा जगरनाथपुरका सहदेव महतो, बारा जितपुरका नागेन्द्र चौधरी, मकवानपुर हेटौडाका उत्तम ज्योति बज्राचार्य, बारा प्रसौनीका योगेन्द्र प्रसाद साह, पर्सा ठोरीका सागर पाख्रिन, बारा कोल्भीका शम्भु चौधरी, वीरगंज महानगरपालिका वडा नम्बर ३१ का लालेश्वर चौधरी, वीरगंज १४ का राजकपुर पटेल र पर्सा सखुवा प्रसौनीका सल्टु महतो रहेका छन् । 

कैद कट्टी भएर रिहा हुनेहरूलाई कारागारले आज एक कार्यक्रमका बिच पारिवारिक पुनर्मिलन र सामाजिकीकरणको प्रक्रियामा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दै बिदाई गरिएको वीरगंज कारागारका आन्तरिक प्रशासन प्रमुख दिनेश साह सोनारले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button