तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा १ हजारभन्दा बढी पीडित

मकवानपुर । बागमती प्रदेशमा १ वर्षमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा एक हजारभन्दा बढी पीडित भएका छन् । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले आइतबार हेटौँडामा पत्रकार सम्मेलनमार्फत नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । 

इन्सेकले सन् २०२२ जनवरीदेखि डिसेम्बरसम्मको मानव अधिकार अवस्थाको अनुगमन प्रतिवेदनका रूपमा तयार पारेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ सार्वजनिक गरेको हो । जस अनुसार सन २०२२ जनवरीदेखि डिसेम्बरसम्म बागमती प्रदेशमा १ हजार ४२५ जना पीडित भएको इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारीले जानकारी दिनुभयो । 

१ वर्षको अवधिमा प्रदेशका १३ जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट ३४ जना महिला र ३४१ पुरुष गरी ३७५ जना पीडित भएको जनाएको छ । 

यस्तै, ज्यादतीका घटनामा अन्य पक्षबाट ८७७ जना महिला, १७२ जना पुरुष र १ जना यौनिक अल्पसङ्ख्यकसहित १ हजार ५० जना पीडित भएको उल्लेख गरेको छ ।

सोही अवधिमा राज्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घन अन्तर्गत कारागारमा रहेका ४ जना महिला र ४१ पुरुष गरी ४५ जनाको स्वास्थ्य समस्यालगायत विभिन्न कारणले मृत्यु भएको संयोजक भण्डारीले जानकारी दिनुभयो । 

यसैगरी, कुटपिटका घटनामा ४ जना, गिरफ्तारीका घटनामा ३८ जना, यातनाका घटनामा ४ जना, भेला तथा सङ्गठित हुने अधिकारमा ३० जना महिला र २४५ जना पुरुष गरी २५५ जना पीडित भएको उहाँले बताउनुभयो ।

इन्सेकको तथ्यांकअनुसार सन् २०२२ मा महिला अधिकार उल्ङ्ङ्घनका घटनामा ४३४ जना महिला पीडित भएका थिए । यस वर्ष बेचबिखनका घटनामा १३ जना, घरेलु हिंसाका घटनामा ९० जना, कथित बोक्सीको आरोपमा ३ जना, बलात्कारका घटनामा १७१ जना, बलात्कार प्रयासका घटनामा ३५ जना र यौन दुर्व्यवहारको घटनामा १७ जना महिला पीडित भएका छन् । यस्तै, बाल अधिकार उल्लङ्घनका घटनामा ४२ जना पीडित भएका छन् ।

इन्सेकको तथ्याङ्क अनुसार देशभरमा भने सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा राज्य पक्षबाट ६२२ जना तथा अन्य पक्षबाट ६ हजार ७५४ जना गरी जम्मा ७ हजार ३ सय ७६ जना पीडित भए । सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ६ हजार २८५ जना पीडित भएका थिए । यो तथ्याङ्क गत वर्षभन्दा यो वर्ष १ हजार ९१ जनाले बढी हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button