तपाईँ सुन्दै हुनुहुन्छः

बसपार्कमा लुटपाट गर्ने ४० जनामाथि अनुसन्धान सुरु

काठमाडौँ । यही फागुन १ गते नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजनीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ  ।

यातायात मजदुरका नाममा प्रहरीका दुईवटा भ्यानमा आगो लगाउने, लोत्से मल तोडफोड गर्ने तथा मोबाइल लुटपाटमा संलग्न भएको आरोपमा उनीहरुलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको  थियो । 

आन्दोलनकारीले लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटपाट गरेका थिए ।

उनीहरूले प्रहरी वृत्त बालाजुको बा२झ १४४ नंको स्कार्पियो र बा१झ ७२२४ नंको गाडी समेत जलाउनुका साथै बालाजु र माछापोखरी चोकको ट्राफिक आयल्यान्डमा क्षति पुर्‍याएको प्रहरीको आरोप छ । आन्दोलनका क्रममा बालाजु चोकको अस्थायी प्रहरी पोष्टमा समेत आगो लगाइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले आगजनी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो । “प्रहरीको भ्यान आगजनी गर्ने र मल तोडफोड गरी चोरी गर्ने अन्य केही व्यक्तिको पहिचान भइरहेको छ, उनीहरुलाई पनि चाँडै नियन्त्रणमा लिन्छौँ”, प्रवक्ता रिजालले भन्नुभयो ।

नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनलगायतको नेतृत्वमा भएको आन्दोलनले उग्र रूप लिँदा उक्त घटना भएको थियो । घटनामा अधिकांश व्यक्ति चालक, सहचालक, विद्यार्थी र विभिन्न होटल तथा रेस्टुराँका कामदार छन् ।

लुटपाटमा संलग्नलाई मुलुकी अपराध संहिता (ऐन), २०७४ परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्नाका साथै आगजनी तथा तोडफोड गर्नेलाई मुलुकी अपराध संहिता ९ऐन० को परिच्छेद २६ को दफा दुई सय ८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता रिजालको भनाइ छ ।

काठमाडौँ महानगरपालिका–२६ स्थित लोत्से मलमा मोबाइल पसल सञ्चालक चालिसेले राज्यले क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो । 

मलका सञ्चालक इञ्जिनियर दीपक कुँवरले सरकारले व्यवसायको सुरक्षा गर्न नसकेको गुनासो गर्नुभयो । 

मल महानगरपालिकासँग सम्झौता गरी सञ्चालन भएको बताउँदै व्यवसाय र व्यावसायीको सुरक्षा गर्नु राज्यको जिम्मेवारी भएको उहाँको भनाइ छ । “मल तोडफोड हुँदा छ करोड क्षति भएको छ भने मोबाइल लुटपाटबाट झन्डै १५ करोड क्षति भएको छ, यसको क्षतिपूर्ति कसले दिने रु” उहाँले प्रश्न गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button