‘समृद्धिको लक्ष्य पूरा गर्न सरकार प्रतिबद्ध’
कास्की । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको मुख्य ध्यान समृद्धिको लक्ष्य कसरी पूरा गर्ने भन्नेमा केन्द्रित रहेको बताउनुभएको छ ।

सडक डिभिजन कार्यालय पोखरामा आज मातहतका कार्यालयका प्रमुख एवं कर्मचारीलाई निर्देशन दिनुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले समृद्धिको प्रक्रियालाई तीव्रताका साथ अघि बढाउँदा मात्र जनताको अपेक्षा र आवश्यकता पूरा हुने उल्लेख गर्नुभयो ।
उहाँले देशमा समृद्धि हासिल गर्नका लागि भौतिक पूर्वाधार मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न जिम्मेवारीबोध गर्नु आवश्यक रहेको र आयोजनाको कार्यान्वयन प्रक्रियालाई तीव्रताका साथ प्रभावकारी रूपमा अघि बढाउनु आवश्यक रहेकोमा जोड दिनुभयो ।
सबैलाई न्याय र परिणाममा आफू केन्द्रित भएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले काम गराउनका लागि भनसुन गराउनुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो ।
मन्त्री श्रेष्ठले कतिपय विकास आयोजनाको काम सम्झौता भएको १० वर्षसम्म पूरा नभएको आफूले देखेको बताउँदै निर्माण व्यवसायीले काम गरेनन् भनेर मात्र नबस्न र किन काम हुन सकेन भनेर अनुगमन गर्नसमेत कर्मचारीलाई निर्देशन दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्