तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाद्वारा ओखलढुङ्गा ऐतिहासिक सङ्ग्रहालय निर्माण

ओखलढुङ्गा । नेपाली सेनाले ओखलढुङ्गा ऐतिहासिक सङ्ग्रहालय निर्माण गरेको छ । सेनाको अरिदमन गणले सिद्धिचरण नगरपालिका ४ रुम्जाटारमा पृथ्वी नारायण साहले राज्य एकीकरणमा प्रयोग गरेका हातहतियार लगायतका पुरातात्त्विक सामाग्रीको संरक्षण गर्ने उद्देश्यले ऐतिहासिक सङ्ग्रहालय बनाएको हो ।

शुक्रबार एक औपचारिक कार्यक्रमका बीच उक्त सङ्ग्रहालय उद्घाटन गरिएको छ । सेनाले २० लाख खर्चेर निर्माण सम्पन्न गरिएको सङ्ग्रहालयको स्वामित्व समेत स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । श्री नं. १८ बाहिनीपति सहायक रथी सन्तोषराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम मार्फत सङ्ग्रहालय सिद्धिचरण नगरपालिकालाई सेनाले हस्तान्तरण गरेको हो ।

सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले नेपाली सेनाले निर्माण गरेको सङ्ग्रहालयले जिल्लाको सुन्दरतामा ऐतिहासिकता थपेको बताउनुभयो । नगरपालिकाको स्वामित्वमा आए पनि अझै केही समय व्यवस्थापन र दिगोपनामा नेपाली सेनाको साथ आवश्यक रहेको नगर प्रमुख खनालको भनाई छ ।

इतिहासको संरक्षणमा नेपाली सेनाले ओखलढुङ्गाको ऐतिहासिकता झल्काउने गरी सङ्ग्रहालय निर्माण गरेको सहायक रथी सन्तोषराज पाण्डेले बताउनुभयो ।

नेपाली सेनाको क्वीक इनप्याक्ट प्रोजेक्टबाट निर्माण गरिएको सङ्ग्रहालयमा रुम्जाटार आक्रमणमा प्रयोग गरिएका हतियारहरू, बाइङ् राइले लगाएको मुकुट, त्यसबेला प्रयोग गरिएका धनुष, पोशाक लगायतका मौलिक सामाग्री राखिएका छन् । साथै ओखलढुङ्गाको ऐतिहासिकतासँगै प्राचीन संस्कृति परम्परासँग जोडिएको विभिन्न सामाग्री ढकन, तुलो, चिलिम डन्डी, शास्त्री (फोरेसो), ढाँडु, जाँतो, टुकी, धिप्री, कपडा बुन्ने तानदेखि राँटा (चर्खा), ढडिया (ढोक्सा) जस्ता दर्जनौँ प्रकारका लोपोन्मुख सामाग्री समेत सङ्ग्रहालयमा सजाइएका छन् ।

रुम्जाटारमा प्रदेश सरकारको पहलमा सांस्कृतिक सङ्ग्रहालय पनि निर्माणाधीन अवस्थामा छ । ‘घुमिफिरी रुम्जाटार’ ले परिचित पूर्वी पहाडको समथर भूभाग रुम्जाटारलाई स्मार्ट सिटीका रुपमा विकास गर्न थालिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button