तपाईँ सुन्दै हुनुहुन्छः

‘एसियन गेम्स फर फन’ सम्पन्न

काठमाडौँ । हानचोउ एसियाली खेलकुदको प्रवर्द्धन तथा सफलताका कामना गर्दै शुक्रबार ‘एसियन गेम्स फर रन’ आयोजना सम्पन्न भएको छ । एसियाली खेलकुदको १९ औँ संस्करण सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुँदैछ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यक्रम अन्तर्गत नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको फन रन पाटन दरबार स्क्वायरमा  सम्पन्न भएको  थियो ।

फन रन पाटन दरबार स्क्वारबाट सुरु भएर गा बहाल, पुल्चोक, कृष्ण गल्ली, पाटन ढोका, अशोक हल, भीमसेन मन्दिर हुँदै फेरि पाटन दरबार स्क्वारमै आएर टुङ्गिएको थियो । दौडमा कमिटीसँगै युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, एसियाली खेलकुदमा सहभागी हुने सम्बन्धित खेलका खेलाडी र प्रशिक्षकसँगै स्कुलका विद्यार्थी, पत्रकार र खेल प्रेमी गरेर पाँच सय भन्दा बढीको सहभागिता रहेको थियो ।

बिहान सात बजे सुरु भएको फन रनका क्रममा विभिन्न सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो । कार्यक्रमका अवसरमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको सफलताको कामना गर्नु भयो । यस्तै हानचोउ एसियाली खेलकुदका समारोह विभागका सहायक निर्देशक वाङ मिङख्वाले प्रतियोगिताका क्रममा सबैलाई हानचाउमा स्वागत गर्न आफूहरू आतुर रहेको बताउनु भयो ।

कार्यक्रमको अन्त्यमा सहभागी सबै खेलका सङ्घलाई पदक प्रदान गरिएको थियो । यस्तै सहभागी सबैलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । त्यसै अवसरमा प्रतियोगिताबारे सही उत्तर दिन छ जना भाग्यमानी विजेतालाई मस्कट पनि प्रदान गरिएको थियो ।

प्रतियोगिता सन् २०२२ मै हुनु पर्ने थियो । तर कोभिड सङ्क्रमणको महामारीबीच एक वर्ष पछाडि सारिएको थियो । हानचाउ एसियाली खेलकुद आयोजना कमिटीले अब निर्धारित समयमै प्रतियोगिता आयोजना हुने बताउँदै आफ्नो तयारी अन्तिम चरणमा पुगेको बताएको छ । आयोजक कमिटीका अनुसार प्रतियोगिताका लागि ५६ आयोजना स्थल र ३१ प्रशिक्षण केन्द्र तयारी अवस्थामा छ ।

यस्तै पाँच एसियन भिलेज पनि तयार अवस्थामै छन् । प्रतियोगितामा कुल ४० खेलका ६१ विधामा ४ सय ८४ स्पर्धा हुनेछन् र तिनको खेल कार्यक्रम तय भइसकेको छ । प्रतियोगिता सञ्चालनका लागि सबै प्राविधिक पदाधिकारीको नियुक्त भइसकेको छ । यस्तै प्रतियोगिता सञ्चालनका लागि चाहिने सबै कर्मचारीको पनि नियुक्त भइसकेका छन् । प्रतियोगिताका लागि ३८ हजार स्वयं सेवक पनि तयारी अवस्थामा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button