तपाईँ सुन्दै हुनुहुन्छः

साढे सात हजार मेट्रिक टन युरिया मल विराटनगर आउँदै

विराटनगर । गहुँ र धानखेतीका लागि मलको अभाव हुन नदिन साढे सात हजार मेट्रिक टन युरिया मल विराटनगर आउँदै छ । विराटनगरस्थित कृषि सामाग्री  कम्पनी लिमिटेडका लागि सो युरिया मल आउन लागेको हो ।

साढे सात हजार मेट्रिक टन मध्ये धेरैजसो मल विराटनगर भन्सार कार्यालयमा आइसकेको र बाँकी मल आउने क्रममा रहेको छ । नेपाल सरकारले खरिद गरेको सबै युरिया मल १० दिनभित्र कार्यालयमा आइसक्ने कृषि सामाग्री कम्पनी लिमिटेड विराटनगरका प्रमुख बलबहादुर पन्तले बताउनुभयो  । 

त्यसैगरि नेपाल सरकारले खरिद गरेको मध्ये कोटा अनुसार करिब ३६ सय मेट्रिक टन डिएपी मल समेत आउन लागेको छ । यसै महिनाभित्र सो  मल आइपुग्ने कार्यालय प्रमुख पन्तको भनाई छ । सो कार्यालयमा अहिले ३ हजार ५२ मेट्रिक टन युरिया, साढे १२ सय मेट्रिक टन डिएपी मौजाद रहेको छ ।

कार्यालयले ११ हजार मेट्रिक टन युरिया, ९ हजार मेट्रिक टन  डिएपी तथा ९ सय मेट्रिक टन  पोटास विक्री गर्ने वार्षिक लक्ष्य लिएको छ । जस अनुसार माघ मसान्तसम्म ४ हजार ९ सय २७ मेट्रिक टन युरिया, २६ सय मेट्रिक टन डिएपी र ६ सय मेट्रिक टन पोटास विक्री वितरण गरेको जनाएको छ । अहिले पनि सो कार्यालयबाट युरिया, डिएपी तथा पोटास जस्ता रासायनिक मल विक्री वितरण भइरहेको छ  । 

कोटा अनुसार छुटयाएको मल किसानहरूका लागि पर्याप्त नभएपनि मलको भने अभाव नरहेको कार्यालयले जनाएको छ । किसानका आवश्यकता अनुसार समानुपातिक रुपमा मल आपूर्ति भइरहेको कार्यालय प्रमुख पन्तको भनाई छ । मोरङ जिल्लामा रहेका  २ सय ३० वटा सहकारी मार्फत मल विक्री वितरण  भइरहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button