काभ्रेको बेथानचोक गाउँपालिकालाई काठमाडौँ र हेटौँडासँग जोड्ने सडक कालोपत्रे हुँदै

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकालाई संघीय राजधानी काठमाडौँ तथा प्रदेश राजधानी हेटौँडासँग जोड्ने सडकअन्तर्गत मुसेखोल्सादेखि चलाल गणेश स्थानसम्मको साढे तीन किलोमिटर खण्डको स्तरोन्नति सुरु भएको छ ।
गाउँपालिका अध्यक्ष भगवान् अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिनालगायत जनप्रतिनिधिहरूले सडक स्तरोन्नति कार्यको उद्घाटन गर्नुभएको हो । गाउँपालिकाको चलाल गणेस्थानदेखि गेल्लुङसम्मको ५ किलोमिटर सडक यसअघि नै कालोपत्रे भइसकेको छ ।
गाउँपालिकाले आफ्नै स्रोतबाट सडकको स्तरोन्नति गर्न लागेको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले बताउनुभयो । गत वैशाखमा निर्वाचित भएसँगै गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले यस सडकलाई प्रदेश राजधानी हेटौँडासम्म बिस्तार गर्ने योजना तयार गर्नुभएको थियो ।

यही योजनालाई अन्तिम रूप दिनका लागि एक साताअघिमात्रै अध्यक्ष अधिकारीको सक्रियतामा चारवटा गाउँपालिकाको संयुक्त बैठक मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न भएको थियो ।
सो बैठकमा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका ललितपुरको महाँकाल र बागमती गाउँपालिका तथा मकवानपुरको बागमती गाउँपालिकाका क्षेत्रमा पर्ने सडकहरूको डिपिआर सम्बन्धित पालिकाले नै गर्ने सहमति भएको थियो ।
सडक स्तरोन्नतिपछि गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने तथा स्थानीयस्तरमा उत्पादित सामाग्रीहरूलाई सहज र छिटो रूपमा निर्यात गरेर ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने अधिकारीले बताउनुभयो ।

आगामी जेठ २५ भित्र निर्माण सम्पन्न गर्ने गरी श्री जोशी जी र घिसिङ जेभीलाई कालोपत्रे तथा ढलानको ठेक्का दिइएको छ । ५ दशमलव ५ मिटर चौडाइको सडकको १ किलोमिटर १ सय ८५ किलोमिटर दूरी ढलान गरिने तथा २ किलोमिटर ५५० मिटर दूरी कालोपत्रे गरिने तथा ल्याब टेस्ट गराएर गुणस्तरीय निर्माण सामाग्रीहरूमात्रै कालोपत्रेका लागि प्रयोग गरिने गाउँपालिकाका प्रवक्ता मधुसूदन तिम्सिनाले जानकारी दिनुभयो ।
त्यस्तै, खोला किनारमा जाली ओछ्याउने, यसअघि बनाइएका ड्रेन बनाउने र नयाँ ठाउँमा ड्रेन बनाउने काम पनि हुने बताइएको छ।
गाउँपालिकाले आगामी ५ वर्षभित्र गाउँका प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्ने तथा प्रत्येक वर्ष कम्तीमा ५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना तयार गरेको छ । त्यस्तै, दुर्लुङखोलादेखि च्याम्राङवेसीसम्म सुरूङमार्ग बनाउने तथा ग्रामीण सडकहरूलाई स्तरोन्नति गर्ने गाउँपालिकाको लक्ष्य रहेको बताइएको छ।







प्रतिक्रिया राख्नुहोस्